
राष्ट्रिय ट्रमा सेन्टरले आगामी साउनदेखि २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने भएको छ। आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने तयारी गरेको हो।
ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवका अनुसार आगामी साउनदेखि उक्त सेवा उपलब्ध गराइने छ। ‘हामीसँग धेरै विशेषज्ञ चिकित्सक छन्, आफ्नै आन्तरिक स्रोतबाट ती विशेषज्ञ चिकित्सकबाट २४सै घण्टा बिरामीलाई उपचार गर्दछौँ,’ उनले भने।
मेसु यादवका अनुसार हाल ट्रमा सेन्टरमा १०० भन्दाबढी विशेषज्ञ चिकित्सकहरू कार्यरत छन्। ती चिकित्सकलाई पालैपिलो ड्युटीको समय मिलाइनेछ। यस्तै उक्त सेन्टरले अब आफैँ बिरामी र कुरुवालाई खानाको व्यवस्था पनि गर्ने भएको छ। यसअघि वीर अस्पतालबाट बिरामी र कुरुवाका लागि खानाको व्यवस्था गरिँदै आएकोमा अबदेखि सेन्टरबाट नै खानाको व्यवस्था गर्न थालिएको हो।
सेन्टरमा दैनिक १५० बिरामीलाई दुई छाक र तिनका कुरुवालाई एक छाक खाना उपलब्ध गराइनेछ। यस्तै सेन्टर अप्रेशन थिएटर र फार्मेसी पनि सञ्चालनको तयारीमा छ । शल्यक्रिया गर्न बिरामीलाई सजिलो होस् भनेर शल्यक्रिया कक्ष नजिक नै सेन्टरले अप्रेशन थिएटर र फार्मेसी सञ्चालन गर्न थालेको हो।