
रूपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक सोमवार पक्राउ परेका छन् ।
लुम्बिनी इलाका प्रहरी कार्यालयले भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेही हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमध्येबाट मोटरसाइकल चालक चिनक भनिने हुसेनको दाहिने कम्मरपेटीबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको दुई राउण्ड गोली र चक्कु एक थान फेला परेको प्रहरीको भनाइ छ ।
आइतवार राति ८ः३० बजे उक्त कार्यालयबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको नेतृत्वमा गस्तीमा खटिएको प्रहरीले यूपी ५५ एडी ०६८४ नम्बरको मोटर साइकललाई शंका लागेर पछयाउदै जाने क्रममा लुम्बिनी–६ बसपार्क नजिक मोटसाइकल अनियन्त्रित भई गोरूलाई ठक्कर खाएर दुर्घटना भएको थियो ।
मोटरसाइकल दुर्घटनामा परी तीनै जना घाइते भएकाले उनीहरूलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।