
डलर जोगाउन भन्दै सरकारले विभिन्न वस्तुमा लगाएको आयात प्रतिबन्ध कूटनीतिक नियोगलाई लागू नहुने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै बन्देज लागू नहुने बताएको हो ।
अब कूटनीतिक नियोगले महंगा गाडीहरू खरिद गर्न बाटो खुल्नेछ । सरकारले वैशाख १३ गते निकासी तथा पैठारी (नियन्त्रण) ऐन २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विभिन्न वस्तुको पैठारीमा पूर्ण बन्देज लगाउने निर्णय गरेको थियो ।
यो व्यवस्थाले पैठारीमा बन्देज लगाइएका उल्लिखित वस्तुहरू नेपालस्थित कूटनीतिक नियोग, कूटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय संघ संस्था तथा सोमा कार्यरत कूटनीतिक सुविधा प्राप्त विदेशी कर्मचारीको निजी प्रयोगको निमित्त पैठारी गर्न बाधा नपर्ने राजपत्रको सूचनामा उल्लेख गरेको छ ।
यसअघि राजपत्र प्रकाशित गर्दा सरकारले यो कुरा समावेश गर्न नसक्दा पुनः राजपत्रबाट समावेश गरिएको हो । सरकारले विदेशी मुद्रा सञ्चिति जोगाउने भन्दै गाडी मोटरसाइकल लगायत ३०० भन्दा बढी वस्तुमा आयात प्रतिबन्ध लगाइएको छ ।