
नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय संकटमा परेका छन्। दैनिक दर्जनौँपटक विद्युत् जाने–आउने समस्याका कारण उद्योग व्यवसाय मात्रै होइन, सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन्।
भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्न थालेपछि इन्भर्टर र जेनेरेटर हटाएका उद्योग तथा सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन्। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले समस्या आएको धेरैको गुनासो छ ।
उद्योग संघ चितवनका प्रतिनिधिले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समस्याका बारेमा अवगत गराएका थिए। उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको बताए। डिजेलको मूल्य अत्यधिक बढेकाले जेनेरेटर चलाउने अवस्था नभएको भन्दै उनले दिनभर मजदुरलाई त्यसै पालेर राख्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरे।
आफ्ना कुरा नसुनेको उद्योगी व्यवसायीको गुनासो छ। कतिपय उद्योगमा विद्युत् आपूर्ति अनियमित हुँदा कच्चा पदार्थसमेत नष्ट हुने गरेको उनीहरूको भनाइ छ। आर्थिक चलायमान कम भइरहेको समयमा उद्योग नियमित सञ्चालन गर्न नपाउँदा बैंक किस्ता र ब्याज बुझाउनसमेत कठिन अवस्था आएको उद्योगी व्यवसायीको गुनासो छ।
विद्यार्थीहरू पनि अघोषित लोडसेडिङबाट निकै प्रभावित भएका छन्। चितवनजस्तो गर्मी ठाउँमा पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले निर्माणका काम र विद्युत् स्तरोन्नतिको काम भइरहेकाले समय–समयमा विद्युत् अवरोध भएको दाबी गरे । धेरै ठाउँमा विद्युत् लाइन सुधारको काम भइरहेको उनले बताए। –रासस