
सरकारले निजामति कर्मचारीहरूका लागि फरक वातावरणमा काम गर्ने अवस्था सिर्जना गरिरहेको बताएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले कर्मचारीहरूलाई कामका लागि नयाँ वातावरण निर्माण भइरहेको बताएका हुन्।
मंगलवार मन्त्रालयले आयोजना गरेको प्रतिभा डबलीको छनोट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी सेवामा कार्यरत कर्मचारीहरू बीचमा प्रतिभाको प्रतिष्पर्धा गर्दा आगामी दिनमा अध्ययन र अनुसन्धानको पाटोलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले सीप र क्षमतालाई प्रतियोगिताको माध्यमबाट अघि सार्दा कर्मचारीहरूमा काम गर्ने क्षमताको विस्तार हुने बताए।
मन्त्री श्रेष्ठले कर्मचारीहरूले सेवाग्राहीलाई राम्रो ढंगबाट सेवा दिने नविन उपायहरू प्रतिष्पर्धाबाट आउने बताए। उनले भने, ‘यो ट्यालेन्ट बारमा भाग लिइरहेका साथीहरुले सेवाग्राहीलाई कसरी राम्रो सेवा दिने त्यो भन्नसक्छ । प्रशासनलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने उपायहरु दिनसक्छ ।’
कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले कार्यक्रमले बाहिरी समाजमा विद्यमान कर्मचारीमा रहेको पुरातनवादी सोचको आरोपलाई चिर्ने काम गर्ने विश्वास व्यक्त गरे। उनले बाहिर कर्मचारीहरूमा कुनै नयाँ योजना नै छैन भन्ने भ्रम रहेकोले त्यसलाई चिरेर अघि बढ्न आवश्यक रहेको बताए।
‘बाहिरी समाजमा कर्मचारी भनेका पुरातनवादी सोचका छन् । यिनीहरुलाई केही थाहा छैन । केही योजना छैनन् भन्ने हल्ला व्याप्त छ,’ उनले भने, ‘प्रतिभाको कदर गर्ने, सम्मान गर्ने, प्रतिभाको उचित वातावरण सिर्जना गरेर प्रस्फुटन हुने मौका दिने हो भने निजामति सेवाले फड्को मार्नेछ । जनताका माझ लोकप्रिय हुनेछ ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको कर्मचारी प्रतिभा डबली कार्यक्रममा मन्त्री श्रेष्ठ र मुख्यसचिव बैरागी सहभागी भएका थिए।
कार्यक्रममा सहभागी हुनका लागि सबै मन्त्रालयका सचिवहरूलाई निमन्त्रणा गरिएको थियो। सबै मन्त्रालयका सचिवहरूलाई सम्बोधन गरेरै कार्यक्रममा सहभागी हुन एसएमएसमार्फत् आमन्त्रण गरिएको थियो। तर, अधिकांश मन्त्रालयका सचिवहरू भने सहभागी भएनन्।