
अमेरिका र उसका साझेदारहरूले युक्रेनलाई हातहतियार सहयोग गरिरहेको भए पनि रुसको सैन्य कारवाहीको परिणामलाई असर नपार्ने एक रुसी अधिकारीले बताएका छन् ।
रुसको राष्ट्रिय सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभले मंगलवार एक बैठकलाई सम्बोधन गर्ने क्रममा यो टिप्पणी गरेका हुन् ।
अमेरिका र पश्चिमले युक्रेनलाई सैन्य सहयोग गरिरहे पनि रुसले लक्ष्य हासिल गरिछाड्ने पात्रुशेभको भनाइ छ ।
युक्रेनमा विकसित अनेकौं घटनाक्रमले रुसको मात्र नभई संसारको सुरक्षामा नै असर पारेकाले रुसले सैन्य कारवाही चलाउनुपरेको उनले बताए । युक्रेनमा नवनाजी विचारधाराको उदय तथा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसँग जोडिएका युक्रेनी जैविक प्रयोगशालालाई जोखिमका उदाहरणका रूपमा उनले लिए ।