
मानो रोपेर मुरी उब्जाउने समयमा बाढीले भर्खर धान रोपेको खेत पुरेको छ ।
बागलुङमा अविरल वर्षाका कारण ठूलो मात्रामा भौतिक क्षति पुगेको छ ।
बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर बनाएको छ ।
तित्याङस्थित ठेउरे खोला थुनिएर इकिमको फाँटमा पुग्दा १५० रोपनीभन्दा बढी खेतमा लगाएको धानबाली पुरेको छ । किसानले यही असारमा लगाएको धानबाली पुरेर खेत बगरमा परिणत भएको किसान शंकर पाण्डेयले जानकारी दिए । उनका अनुसार १०० जनाभन्दा बढी किसानको खेत बाढीले पुरेको छ ।
भर्खर रोपेको धानबालीसहित खेत पुरेपछि यहाँका किसान निराश बनेका छन् । ‘खेत पुरेको मात्रै छैन, सानासाना खेतका गरा भत्काएको छ, तत्कालै खेत चिनेर बाढी पन्छाउन सम्भव देखिँदैन,’ उनले भने, ‘भिरालो जमिनमा खेत रहेकाले मशिनको प्रयोग गर्न समेत समस्या हुन्छ ।’