
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा बुधवार भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।
भेटमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा २ देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् । उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै आगामी दिनमा अझ विस्तार हुने आशा गरिन् ।
मन्त्री भुसालले भनिन्, ‘नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालिन विद्युत व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक छ । यहाँको कार्यकालमा विद्युत व्यापारमा महत्त्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु ।’
उनले पश्चेश्वर जलविद्युत् परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा २ देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
सो अवसरमा राजदूत श्रीवास्तवले २ देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने विश्वास दिलाए । पछिल्लो १ वर्षमा विद्युत् व्यापारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्ध भएको उल्लेख गर्दै उनले भने, ‘पछिल्लो १ वर्षमा विद्युत् व्यापारमा ठूलो सफलता मिलेको छ । यसमा दुवै सरकारको सहकार्य सराहनीय छ ।’

आफूले विद्युत् उत्पादन एवं व्यापारका लागि निरन्तर पहल गर्ने विश्वास दिलाउँदै उनले भने, ‘विद्युत व्यापार दुवै देशका लागि फाइदाजनक विषय हो । यसमा हाम्रो तर्फबाट निरन्तर सहयोग हुनेछ ।’
भेटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव द्वय बाबुराम भण्डारी र चिरञ्जीवि चटौत र परराष्ट्र मन्त्रालयको प्रतिनिधिको सहभागिता थियो ।