१६ असार २०८३, मंगलबार
प्राकृतिक सुन्दरता

धो–तराप : विकटताभित्रको सुन्दरताको उच्चतम नमूना [फोटो कथा]

असार २२, २०७९
धो–तराप : विकटताभित्रको सुन्दरताको उच्चतम नमूना [फोटो कथा]

माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धो–तराप नेपालकै सबैभन्दा उचाइमा रहेको मानव बस्ती हो । प्राकृतिक सुन्दरताले भरीपूर्ण बस्तीलाई चारैतिरबाट अग्ला पाटनहरूले घेरेको हुनाले यसलाई ‘धो उपत्यका’ पनि भन्ने गरिन्छ ।

सडक सञ्जालबाट टाढै रहेको धो–तराप डोल्पा सदरमुकाम दुनैबाट ३ दिनको हिँडाइमा पुग्न सकिन्छ । आजको फोटो कथामा धो–तरापलाई विभिन्न ठाउँबाट क्यामेरामा कैद गरेको दृश्य प्रस्तुत गरेको छु ।

धो–तरापको पाटनमा यार्सागुम्बा पाइन्छ । जेठको पहिलो हप्तातिर स्थानीय धेरै मानिस घरमा ताल्चा ठोकेर यार्सा टिप्न जाने गर्छन् । यो समयमा गाउँघरमा बुढापाका मात्र भेटिन्छन् । यार्सा संकलन स्थानीयको आम्दानीको मुख्य स्रोत हो । यहाँ गुच्ची च्याउ पनि पाइन्छ । गुच्ची च्याउ औषधीय गुण भएको एक महत्त्वपूर्ण जडीबुटी हो । 

भौगोलिक विकटताको वर्णन गरी साध्य नहुने यो ठाउँमा प्राकृतिक सुन्दरतासँगै धर्म, संस्कृतिमा आफ्नै खालको मौलिकता छ । डोल्पो समुदायको बसोबास रहेको धो–तरापका स्थानीय आफ्नो परम्परा, कला, संस्कृतिको जगेर्ना र प्रचारप्रसार गर्न लागिपरेका छन् ।

भौगोलिक विकटताका कारण यो ठाउँ राज्यको उपस्थितिभन्दा धेरै पर छ ।

अन्नबालीका रूपमा उवा र आलु मात्र फल्छ । स्थानीयले उवा काट्ने काम लामा गुरुले साइत जुराएपछि मात्र शुरू गर्छन् । उवा काट्ने सन्दर्भमा रोचक कुरा के छ भने उवा काट्न शुरू गर्नुभन्दा पहिले खेतको आलीका सबै घाँस काटिसक्नुपर्छ । उचाइमा फल्ने उवालाई स्थानीयले चम्बा (सातु) र ढिँडोको रूपमा खाने गर्छन् ।  

उवा र आलु मुख्य अन्नबाली भए पनि उत्पादित उवा र आलुले वर्ष दिन खान पुग्दैन । स्थानीयहरू चौरी र खच्चडलाई बोकाएर खाद्यान्न अन्यत्रबाट ल्याउने गर्दछन् । तिब्बतको सीमा भएर धो–तरापसम्म सडक आइपुगेको छ ।

उच्च हिमाली भेगको धो–तरापमा हिउँदयाममा हिमपात र अत्यधिक जाडो हुने गर्छ । जाडोका कारण मानिसहरू धो–तरापमा ६ महिना मात्र बस्छन् । जाडो छल्नका लागि काठमाडौं र सदरमुकाम दुनै आसपासका क्षेत्रमा झर्ने गर्छन् । 

एक पटक गएपछि फेरि जाउँ–जाउँ लाग्ने, वरिपरिका यार्सा फल्ने पाटन, बस्तीको छेवैबाट बगेको धो र ताक्सी खोलालाई जति हेरे पनि धित मर्दैन । उवा झुल्ने फाँटमा भुल्ने मन, पुगिसकेपछि फर्कनै मान्दैन । धो–तरापले मोहनी लगाउँछ । ३ दिनको हिँडाइका क्रममा पाइएको पीडा र दुःखलाई पूरै मल्हम लगाई सञ्चो बनाउँछ धो–तरापले ।

स्थानीयको आँखामा झल्कने निर्दोषपन र सरलपनले मानव सभ्यताको विश्व सञ्जालमा फिँजिएको जालझेललाई भुसुक्कै बिर्साइदिएर बन्धुत्वको भाव झल्काउँछ ।

दैनिक परम्परागत भेषभूषामा झल्कने स्थानीय महिला र पुरुषहरूले लगाएको गरगहना, मौलिक शैलीको कपाल आदिले पर्यटकलाई अचम्मित पार्दै नौलो अनुभूति दिलाउँछ । विश्व जगतलाई एन्ड्रोइड तथा कम्प्युटरले देखाएको र चिनाएकोभन्दा फरक मौलिकपनले आश्चर्यचकित तुल्याउने गर्दछ । त्यसैले पर्यावरणको पारिस्थितिकीय प्रणालीलाई यक्ष राख्न स्थानीय विश्वमै नमनयोग्य छन् जस्तो लाग्छ ।


  
गाउँमा शताब्दिऔं पुराना रिबो बुम्पा गोम्पा र जुम्पा गुम्पा गुम्बा रहेका छन् । घोडा दौड र तीरन्दाजी (तीर हान्ने) प्रतियोगिता, परम्परागत सांस्कृतिक भेषभुषामा महिला/पुरुषहरूले नाच्ने नाच नाच्दै पुरुषहरूले बजाउने परम्परागत बाजाहरू धो–तरापको मुख्य सांस्कृतिक पहिचान हुन् । यी संस्कृतिले मानव बसोबासको उच्च उचाइ मात्रा होइन, कला र संस्कृतिको जगेर्नामा पनि उच्च महत्त्व पाएको कुरा प्रस्ट हुन्छ ।

यी सबैलाई सही तरिकाले प्रचारप्रसार गर्न सके नेपाललाई विश्वमा चिनाउन र चिन्न चाहनेहरूले धो–तरापलाई खोजीखोजी आउने वातावरण बनाउन आवश्यक छ । यसबाट नेपालको पर्यटकीय प्रवद्र्धनमा टेवा पुग्ने निश्चित छ ।

डोल्पो क्षेत्र अथाह पर्यटकीय सम्भावना बोकेको छ । डोल्पो क्षेत्रमै रहेको धो–तरापको उचित प्रचारप्रसार गरी विश्व पर्यटन गन्तव्यको रूपमा अगाडि बढाउन सके देश र दुनियाँले देख्ने थिए नेपालको प्राकृतिक सामर्थ्य । अनि ओइरो लाग्ने थिए आन्तरिक तथा बाह्य पर्यटकको । 

सदरमुकाम दुनैसँग सडक सञ्जालमा नजोडिएको यो गाउँमा पछिल्ला केही वर्षयता मोटरसाइकल घरघरै पुगेका छन् । यहाँ अधिकांश मानिसहरू मोटरसाइकल चढ्ने गर्दछन् । उत्तरी सिमाना तिब्बतबाट ल्याइएको मोटरसाइकल सबैको घरमा छ तर पनि यहाँको मुख्य यातायातको साधन भनेको खच्चड र घोडा नै हुन् ।

४ हजार २०० मिटरको उचाइमा रहेको धो–तराप । सुन्दा र पुग्दा जति विकट छ, त्योभन्दा धेरै सुन्दर छ । एक पटक पुग्नैपर्छ अनि थाहा हुन्छ विकटता भित्रको सुन्दरता, देशको वास्तविकता, जीवन बाँच्ने फरकपनको मौलिकता ।

यो सुन्दर दृश्यहरू राज्यको दृष्टिमा अहिलेसम्म पर्न सकेको छैन । सडक सञ्जालले छुन नसकेकै कारण यहाँका अथाह पर्यटकीय, जडीबुटी, कला र सांस्कृतिक सम्भावनाहरू ओझेलमा परेका छन् । सडक सञ्जालले मात्र जोड्ने हो भने यस ठाउँलाई राज्यले केही दिनुपर्दैन, बरु राज्यलाई धेरै कुरा दिन सक्ने सामर्थ्य राख्छ गाउँले ।

(यो फोटो कथामा प्रयोग भएका सम्पूर्ण तस्वीरहरू गएको भदौ महिनाको मध्यतिर खिचिएको हो ।) 

 

 

 

 

 

 

 

 

 

salt training

कमेन्ट गर्नुहोस्