
मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी आज पुर्पक्षका लागि थुनामा पुगेका छन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।
मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौँबाट पक्राउ गरेको थियो । सप्तरीका विपन्न नागरिकको उठीबास लगाएर फरार रहेका मिटरब्याजी रामदेव साह हालसम्म पक्राउ परेका छैनन् । रामदेवसहित अन्य छ जना फरारको खोजी भइरहेको छ । आरोपितविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका छन् ।