
श्रीलंकामा शनिवार भएको हिंसात्मक प्रदर्शनपछि त्यहाँको सेनाले शान्ति कायम गर्न प्रदर्शनकारीहरूलाई आग्रह गरेको छ।
श्रीलंकाका चिफ अफ डिफेन्स स्टाफ जनरल शभेन्द्र सिल्वाले राजनीतिक संकटको शान्तिपूर्ण समाधानको अवसर आएको बताएका हुन् ।
शनिवार आक्रोशित प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवासमा आक्रमण गरेका थिए । सोही क्रममा हजारौंको भीडले प्रधानमन्त्रीको निजी निवासमा आगजनी गरेको थियो ।
सेना र प्रहरीले मानिसहरूलाई हिंसाबाट जोगाउन अश्रुग्यास र पानीको फोहोरा पनि प्रहार गरेका थिए । तर, पनि विरोध प्रदर्शन भने जारी नै रह्यो ।
श्रीलंकाका जनता खाद्यान्न, पेट्रोल र औषधिको अभावमा संघर्ष गरिरहेका छन् । यी आयात गर्न सरकारसँग विदेशी मुद्रा बाँकी छैन। योसँगै मुलुकमा मुद्रास्फीतिले आकाश छुन थालेको छ ।
देशको कमजोर आर्थिक अवस्थाबाट आक्रोशित मानिसहरू महिनौंदेखि राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीले शनिवार भएको प्रदर्शनपछि राजीनामाको घोषणा गरेका छन् । -बीबीसी