०७ असार २०८३, आइतबार

के म्युजिक भिडियोमा श्रीमानबाहेक अरूसँग अभिनय गर्न मान्दिनन् लक्ष्मी ?

के म्युजिक भिडियोमा श्रीमानबाहेक अरूसँग अभिनय गर्न मान्दिनन् लक्ष्मी ?
तस्वीरः ‘जेल पनि सहुँला’ गीतको भिडियोको दृश्यमा लक्ष्मी बर्देवा र जीवन भट्टराई ।

कुशल अभिनयका कारण चिनिएकी अभिनेत्री हुन् लक्ष्मी बर्देवा । रंगमञ्च हुँदै चलचित्र र म्युजिक भिडियोमा उनको सक्रियता उत्तिकै छ ।

हिजोआज उनी अभिनित एकपछि अर्को म्युजिक भिडियोहरू सार्वजनिक भइरहेका हुन्छन् । लक्ष्मी अभिनित ‘परानै दिन्छु’, ‘जेल पनि सहुँला’, ‘भन साइँला’ जस्ता थुप्रै म्युजिक भिडियोलाई दर्शकले निकै रुचाएका छन् । म्युजिक भिडियोको निर्देशनसमेत गर्दै आएकी लक्ष्मी धेरैजसो म्युजिक भिडियोमा आफ्नो श्रीमान अभिनेता जीवन भट्टराईसँग देखिँदै आएकी छन् । 

त्यसैले पनि हुन सक्छ, लक्ष्मी आफ्नो श्रीमान जीवनसँग बाहेक अरूसंग अभिनय गर्न मान्दैनिन् रे ! भन्ने हल्लाहरू सांगीतिक बजारमा सुन्ने गरिन्छ । अभिनेत्री लक्ष्मी स्वयंले पनि यस्तो हल्ला सुन्ने गरेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै यसबारे प्रष्टीकरणसमेत दिएकी छन् ।

‘म कलाकार भएको नाताले मैले आजसम्म यस्तो मनस्थिति कहिल्यै बोकेको छैन । त्यो मेरो धर्म विपरीत हो भन्ने मेरो धारणा छ,’ लक्ष्मी लेख्छिन् ‘आजसम्म म र कलाकार जीवन भट्टराईले जति पनि सहकार्य  गरेको छौँ त्यो नितान्त निर्माताको रोजाइले गर्दा हो ।’

उनले कसैले आफूहरूलाई भिडियोमा सँगै देख्न चाहे आफूले नाइँ भन्न नमिल्ने बताउँदै अगाडि भनेकी छन्, ‘अरूसँग रोज्नुहुन्छ भने पनि मेरो तर्फबाट कुनै पनि प्रकारको ‘नकारात्मक’ प्रतिक्रिया मैले आजसम्म जनाएको छैन ।’

आफूसँग जोडिएर सहकार्य गरेकाहरूलाई यो कुरा प्रष्ट रहेको उनको भनाइ छ । उनले आफूले आफ्नो श्रीमानसँग सहकार्य गर्नु र अरू कलाकारसँग सहकार्य गर्नुमा कुनै भिन्नता नरहेको स्पष्ट पारेकी छन् ।

‘जीवन भट्टराई मेरो श्रीमान हुनुअगावै उहाँ एक कुशल कलाकार हो । मलाई उहाँसँग काम गर्नु र अरू पुरुष कलाकारहरूसँग काम गर्नुमा कुनै भिन्नता छैन । र, जीवनजीलाई पनि अरूसँग काम गर्नु र मसँग काम गर्नुमा केही फरक छैन ।’

अभिनेत्री लक्ष्मीले यस प्रकारको हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्