
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यकोषबाट विभिन्न ट्रष्ट र फाउण्डेसनहरूका नाममा बजेट छुट्याउने कार्यको विरोध गरेका छन् ।
आफ्नै पार्टीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीसहित विभिन्न मन्त्रीहरूका परिवारका सदस्यको नाममा खोलिएका ट्रष्ट तथा फाउण्डेशनलाई बजेट विनियोजन गरेको भन्दै विरोध भइरहेका बेला गुरुङको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
उनले ट्वीटरमा नेताहरूको नाममा खोलेको ट्रष्ट र फाउण्डेसनका नाममा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् । यसलाई भ्रष्टाचारको संज्ञा दिँदै उनले तत्काल रोक्नुपर्ने बताएका छन् ।
उपसभापति गुरुङले आफूले पार्टीका तत्कालीन सभापति सुशील कोइरालाकै पालामा केन्द्रीय समिति बैठकमा यसको विरोध गरेको स्मरण गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समिति बैठकमा भनेको थिएँ, नेताहरूको नाममा खोलेको ट्रष्ट/फाउण्डेसनहरूमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ । यो भ्रष्टाचार हो । रोक्नु पर्छ ।’
उनले यस्तो गतिविधिले नेतृत्वप्रति जनताको विश्वास गुम्ने बताएका छन् । उनले यस्ता काम नरोकिए श्रीलंकाको जस्तो अवस्था आउनेतर्फ सचेत गराउँदै लेखेका छन्, ‘यो प्रवृत्ति झनै बढेको छ । श्रीलंकाको घटनाबाट अचेत नेताहरूको चेत खुलोस् ।’
श्रीलंकामा आर्थिक संकट चुलिएपछि नागरिकले आन्दोलन थालेका छन् । उनीहरूले राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न मन्त्री र नेताका सरकारी तथा निजी निवासमा कब्जा जमाइरहेका छन् ।