
भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको १२ लाख बढी मूल्यको चिनी प्रहरीले पश्चिम नवलपरासीको बर्दघाट बजारबाट बरामद गरेको छ ।
पछिल्लो समय जिल्लाका सीमावर्ती नाकाबाट चिनी तस्करी हुने गरे पनि वास्ता नगरेको भन्दै आलोचना बढेपछि प्रहरीले सक्रियता बढाएको हो ।
प्रहरीको सक्रियतासँगै दैनिकजसो चिनीसहितका अवैध सामान बरामद हुन थालेका छन् ।
आइतवार बिहान मात्र ट्रकमा लोड गरी लैजाँदै गरेको तस्करीको चिनीलाई प्रहरीले बर्दघाटको टीसीएन चोकबाट बरामद गरेको हो ।
ना ६ ख २३८८ नम्बरको ट्रकमा लोड गरी चितवनतर्फ लैजान लागेको ४१८ बोरा चिनीको तौल २० हजार ८९४ किलो छ । जसको मूल्य १२ लाख ५३ हजार कायम गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायव उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले जानकारी दिए ।
नाकाहरूबाट दैनिक १० देखि १२ ट्रक चिनी तस्करी हुने गरेको आलोचनापश्चात लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलप्रसाद उपाध्यायले जिल्लासहित मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए । चिनीसहित कपडा, खसी बोकालगायतको तस्करी बढेपछि प्रदेश प्रहरीले पनि छुट्टै निगरानी बढाएको प्रदेश प्रहरी स्रोतले बताएको छ ।
त्यसैगरी आइतवार नै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख २०१५ नम्बरको यात्रुवाहक बसबाट भन्सार छलेर ल्याएको एक लाख ५७ हजार बराबरको लेडिज सुट, जेन्स टिसर्ट, टप्सलगायतका कपडा बरामद भएको डीएसपी शाहीले जानकारी दिए ।
बरामद भएको ट्रकसहितको मालवस्तु आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।