
नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भोलि (सोमवार) बाट शुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको कामकारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेण्डा तय गरेको छ ।
आइतवार काठमाडौंको विशालनगरमा बसेको कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको कामकारबाहीबारे बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको कामकारबाहीबारे केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिए ।
कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
‘पार्टीलाई विधिवत् तरिकाले चलाउने कुराहरूमा पनि केन्द्रीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी मजबुत बनाउने, आगामी चुनावमा कांग्रेस कसरी जाने ? र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रुपमा पार्टीलाई फाइदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो,’ उनले भने, ‘पार्टीको भातृ संस्थाहरूदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ ।’
बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरू सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय गरेको छ ।
बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता थियो ।
नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।