०१ साउन २०८३, शुक्रबार

राप्रपा महिला संगठनको बैठकमा कुटाकुट

राप्रपा महिला संगठनको बैठकमा कुटाकुट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिला संगठनको बैठकमा कुटाकुट भएको छ । 

आइतवार धुम्बाराहीमा बसेको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको बैठकमा कुटाकुट भएको हो । 

संगठनकी प्रवक्ता निर्मला न्यौपानेले सुनियोजित तरिकाले आफूहरूमाथि कुटपिट भएको बताइन् । 

बैठक चल्दै गर्दा असन्तुष्ट पक्ष भनिएका कुमारी तामाङलगायतको समूह कुटपिटमा उत्रिएको उनको भनाइ छ । 

‘महामन्त्री कुन्ती शाहीलाई पछि बोलाइयो, उहाँले तातो चिया महिलाहरूमाथि खनाउनुभयो, मलाई लछारपछार गर्नुभयो,’ न्यौपानेले लोकान्तरसँग भनिन्, ‘एक जना दाइ आएर मलाई जोगाउनुभयो, रविना शाहीलाई अझै बढी चोट लागेको छ ।’

उनका अनुसार महिला हिंसाविरुद्ध एवं महिला अधिकारका विषयमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने विषयमा छलफल भइरहेको थियो । सोही बेला कुटपिट भएको उनले बताइन् । 

‘अध्यक्ष अञ्जना शाह रावलले राप्रपामा भएका सबै महिला दिदीबहिनीहरूलाई बोलाएर सुझाव माग्नु भएको थियो, ज्ञापनपत्र बुझाउँदा र्‍याली गर्ने, सोलोगनहरू के-के लेख्ने विषयमा छलफल भइरहेको थियो,’ उनले भनिन्, ‘त्यही बेला बाहिरका मान्छेहरू ल्याएर सुनियोजित तरिकाले हामीमाथि आक्रमण भयो ।’

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले अञ्जना शाह रावललाई केही दिनअघि महिला संगठनको अध्यक्षमा चयन गरेका थिए । असन्तुष्ट पक्षले भने शाहलाई अध्यक्ष स्वीकार गरेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्