‘मरेपछि कस्तो अनुभव हुन्छ ?’ यो अनौठो प्रश्न हो । तर, यस प्रश्नको उत्तर जान्न सबै उत्सुक हुन्छन् किनभने मृत्यु शाश्वत सत्य हो ।
मृत्युपछिको अनुभूतिका बारेमा थाहा पाउन संसारभर विभिन्न शोधकार्यहरू भइरहेका छन् । शोधकर्ताहरूले चिकित्सा विज्ञानअनुसार मृत्यु भएर फर्किएका व्यक्तिहरूसँग साक्षात्कार गरेर मृत्युपछिको अनुभूतिका बारेमा जान्ने कोसिस गरिरहेका छन् ।
इन्डीपेन्डेन्टडटकोडटयुकेका अनुसार केही समय पहिले रेडिट थ्रेडले मृत्युपछि जीवनमा फर्किएका केही व्यक्तिहरूसँग यस्तै प्रश्न गरेका थिए । उनीहरूको जवाफलाई तीनभागमा बाँडेर अध्ययन गरिएको छ ।
जसमा पहिलो त्यस्ता व्यक्तिहरू भेटिए जसलाई मृत्युको बारेमा केही महसुस भएन । दोस्रो, मृत्युपछि पनि अन्य व्यक्तिसँग कुराकानी गरिरहेका थिए । तेस्रो, जसले मृत्युपछि प्रकाश देखेका थिए ।
बेलायतस्थित एनवाईयू लैंगोन मेडिकल सेन्टरका प्रोफेसर डा. साम पारनीयाले मुटुको धड्कन बन्द भएकामध्ये ४० प्रतिशतभन्दा बढीमा कुनै न कुनै प्रकारको सचेतना भने भेटिएको बताएका छन् ।
मृत्यु शय्याबाट फर्किएकाहरूको अनुभव कस्तो छ त ? शोधका क्रममा सोधिएको प्रश्नको जवाफ यस्तो थियो ।
आँखामा अँध्यारो छाएको थियो
एक व्यक्तिले मृत्युपछि आफ्नो आँखामा अँध्यारो छाएको बताएका छन् । ‘मेरो एन्जिओग्राफीका क्रममा मुटुको धड्कन बन्द भयो । मेसिनका आलार्महरू बन्द भए । वरिपरीका सबैजना आत्तिन थाले, त्यही बेला मेरो आँखाको सामुन्ने अँध्यारो छायो । त्यसपछि मलाई केही थाहा छैन । मेरो होश आउँदा डाक्टरहरूले बचाउन सफल भयौँ भनेको मात्र सुने । त्यसबेला मलाई निकै आनन्द महसुस भएको थियो ।’
प्वालबाट खसिरहेको थिएँ
मृत्यु शैयाबाट फर्किएका अर्का व्यक्तिले फरक अनुभव सुनाएका छन् । कक्षामा प्रस्तुति दिँदादिँदै लडेका उनले भने, ‘लडेपछि मेरो सास बन्द भएको थियो, मुटुको धड्कन र रक्त सञ्चार प्रणाली पनि रोकिएको थियो । त्यस समय मलाई ठूलो प्वालबाट खसालिरहेको जस्तो महसुस भएको थियो र सहयोगका लागि मेरा साथीहरू रोइरहेका थिए ।’
त्यसपछि आफूलाई केही याद नभएको उनले बताएका छन् । होशमा आउँदा आफूलाई निन्द्राबाट ब्युँझिएजस्तो लागेको उनले बताए । हेरोइनको प्रयोगका कारण उनको मुटुले काम गर्न छाडेको थियो ।
प्रकाश र कुँहिरो देखेँ
अर्का एक व्यक्तिले अन्यभन्दा फरक अनुभूति सुनाएका छन् । उनी सन् २०१४ को फेब्रुअरीमा एक बैठकको समय बेहोस भएका थिए । उनको ५ मिनेटसम्म मुटुको धड्कन तथा पल्स समेत बन्द भएको थियो । उनले आफूलाई मृत्यु शय्यामा पुग्नु एक घण्टा पहिले र त्यसपछि दुई दिनपछिको मात्र याद भएको बताएका छन् । तर, बीचमा छोटो समयको अनुभूति आफूलाई याद भएको उनको दाबी छ ।
मेडिकल्ली आफू कोमामा गएको ४० सेकेण्डसम्म केही याद नभएको र त्यसपछिको अनुभूति फरक रहेका उनको भनाइ छ ।
‘जब मलाई एम्बुलेन्समा राखेर अस्पताल लगिदै थियो, त्यस समयको केही मलाई याद छ । मेरो मृत शरीरलाई एम्बुलेन्समा राखिरहेको मैले देखेको थिए । त्यसपछि मेरो सामुन्ने प्रकाशको पर्खाल उभियो । जताततै प्रकाश नै प्रकाश देखेँ । त्यसपछि फेरि मलाई केही याद छैन ।’
अस्पतालमा ल्याइएपछि फेरि कुँहिरोभित्र आफूलाई देखेको उनको भनाइ छ । ‘अस्पताल ल्याइएपछि मैले मेरो चारैतर्फ कुँहिरो नै कुँहिरो देखेँ । त्यहाँ मेरो सबैभन्दा मिल्ने साथीलाई देखेँ । तर, शुरूमा उनले बोल्न मानेनन् । उसले कुँहिरोबाट बाहिर आएर आफूले पनि धर्तीमा फर्किन कोसिस गरिरहे पनि नसकेको बताए । तर, मैले हार मानिन त्यसपछि मलाई शरीरमा फिर्ता पठाइयो । अनि म होसमा आएँ । त्यसबेला मात्र मलाई आफू मरेको विषयमा थाहा भएको थियो ।’