
शेयर बजार मापक परिसूचक नेप्से सोमवार ७७.०१ अंकले घटेको छ । नेप्से परिसूचक ३.८६ प्रतिशतले घटेर १९१५.६१ विन्दूमा आइपुगेको छ । पछिल्लो समय लगातार घटिरहेको शेयर बजारका कारण लगानीकर्ताले गुमाइमात्रै रहेका छन् ।
सोमवार नेप्सेमा सूचीकृत कम्पनीमध्ये २२७ वटाको कारोवार भएकोमा सोल्टी होटल बाहेक सबै कम्पनीको शेयर मूल्य घटेको छ । सोल्टी होटलको पनि जम्मा १ रूपैयाँले मात्रै शेयर मूल्य बढेको छ । सोमवार कारोवार भएका शेयर बजारमा ५ वटा म्युचुअल फण्डको भने २ प्रतिशतसम्मसम्मले शेयर मूल्य बढेको छ । अन्य २२१ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।
सोमवार सबैभन्दा बढी गुमाउनेमा भने गरिमा विकास लघुवित्त वित्तीय संस्था छ । यसको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । अन्य कम्पनीमा किसान लघुवित्त, हिमाल पावर पार्टर, माउन्टेन हाइड्रोसहितका कम्पनीको शेयर मूल्य ९.१५ प्रतिशतसम्मले घटेको छ ।
सोमवार २ अर्ब ३२ करोड रुपैयाँको शेयर कारोवार हुँदा हिमाल डिस्टिलरीको भने मात्रै ११ करोड रूपैयाँको कारोवार भएको छ । सोमवार कारोवार भएको शेयरमध्ये यो सबैभन्दा धेरै कारोवार गर्ने कम्पनी हो । सोमवार सबैभन्दा बढी कित्ता शेयर कारोवार गर्नेमा भने माथिल्लो तामाकोशीको १ लाख ७१ हजार कित्ता छ ।