नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
चार दिने भ्रमणका क्रममा आइतवार नेपाल आएका विदेश विभाग प्रमुख लिउ प्रचण्डलाई भेट्न सोमवार उनकै निवास खुमलटार पुगेका थिए । दुई नेताबीच खुमलटारमा भेट भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।
दुई नेताबीच नेपाल–चीन आपसी हितका साथै चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्धलगायतबारे छलफल भएको बताइएको छ ।
प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायतसँग भेट गरिसकेका छन् ।
उनले राष्ट्रपति विद्या भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।