सरकारले काठमाडौं उपत्यकामा खानेपानी समस्या समाधान गर्न बागमतीबाट पनि पानीको आपूर्ति गर्ने भएको छ । मेलम्चीको विकल्पमा बागमती नदीबाट दैनिक ५ करोड लिटरभन्दा धेरै पानी काठमाडौंमा आपूर्ति गर्ने तयारी गरिएको हो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीका अनुसार मेलम्चीको विकल्पमा बागमतीबाटै थप पाँच करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । उनले सिस्नेरीबाट करिब १५ करोड लिटर पानी काठमाडौं ल्याइने जानकारी दिए ।
सोमवार सुन्दरीजलमा निर्माण हुन लागेको पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले मेलम्ची र बागमतीको पानी काठमाडौंमा ल्याउन सके खानेपानीको समस्या समाधान हुने बताए ।
सिस्नेरीबाट बागमतीको पानी काठमाडौं ल्याउने अन्तिम तयारी भइसकेको भन्दै उनले संसदबाट खानेपानी तथा सरसफाई सम्वन्धी विधेयक पारित भएपछि काम द्रूत गतिमा अघि बढेको बताए । उक्त विधेयक हालै संसदबाट पारित भएको थियो ।
मन्त्री चौधरीले मेलम्चीको पानी पनि चाँडै काठमाडौंमा आउने जानकारी दिएका छन् । गत वर्ष मेलम्ची खोलामा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको हेडवक्र्स मर्मतको काम भइरहेको भन्दै चाँडै मेलम्चीको पानीलाई पथान्तरण गरिने बताए । ‘क्षतिग्रस्त हेडवक्र्स क्षेत्रको मर्मत सम्भार गरी स्थायी रूपमा मेलम्चीको पानी काठमाडौं पथान्तरण गर्ने तयारीमा छौँ,’ उनले भने ।