
भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार गत आइतवार ड्युटीमा नगएका डा ऋतुराज तिवारीलाई कारबाही गरिएको हो । उनलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधवार उनीसँगको करार भंग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए ।
विगत तीन वर्षदेखि अस्पताल विकास समितिको दरबन्दीमा कार्यरत तिवारीले मेडिकल र वृद्धवृद्धा वार्डका साथै क्याबिनमा रहेका बिरामीको गएको शनिबार बिहान परीक्षणमा गरे पनि साँझ नगएपछि बिरामीका कुरुवाले गुनासो गरेका थिए ।
भरतपुर अस्पताल संघीय सरकार मातहतको अस्पताल हो । यहाँ ६०० शय्या छन् । चितवनसहित २१ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । चिकित्सक र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरिदिँदा बिरामी तथा तिनका आफन्तले हैरानी व्यहोर्नु व्यहोर्दै आएका थिए । रासस