
राष्ट्रियसभाका सांसद वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न माग गरेका छन् । राष्ट्रियसभाको बिहीवारको बैठकमा उनले उपाध्यक्ष पदको निर्वाचन एक हप्ताभित्र गर्न माग गरेका हुन् । ‘एक हप्ता भित्र राष्ट्रियसभाको उपाध्यक्षको पनि निर्वाचन होस् । र, हाम्रा ३ वटा खाली भएका समितिका सभापतिहरुको पनि टुंगो लगाइयोस्,’ उनले भने ।
सांसद गौतमले राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको पनि टुंगो लगाउन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभाको ४ मध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्षले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए । ‘चार वटा जम्मा समितिहरू छन राष्ट्रिसभामा, ३ वटा समितिमा सभापति छैनन्,’ उनले भने, ‘अध्यक्ष महोदयले पहलकदमी लिएर पनि हुँदैन भने राष्ट्रियसभाको अवस्था कस्तो छ भनेर हामीले बुझ्नु पर्दछ । राष्ट्रियसभाका सदस्यहरू कहाँ आन्दोलन गर्न जानपर्ने हो ? जानुपर्छ ।’
यसअघिको बैठकमा पनि सांसद गौतमले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन तत्काल गर्न माग गरेका थिए । उपसभामुख पदको निर्वाचन कार्यक्रम बिहीवारदेखि शुरू भएको छ । बिहीवार नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् ।