
नेपालका लागि अमेरिकाका प्रस्तावित राजदूत डीन आर टम्सनले तिब्बती शरणार्थीको हितमा काम गर्ने बताएका छन् ।
अमेरिकी संसद्को माथिल्लो सदन सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सुनुवाइमा बयानदिने क्रममा टम्सनले सबै नेपाली नागरिक र निवासीको अधिकार पालनाका लागि पैरवी गर्ने बताए । निवासीका रूपमा रहेका विभिन्न शरणार्थीसँगै तिब्बती शरणार्थीहरू समेतको हितका लागि काम गर्ने उनको भनाइ छ ।
त्यससँगै उनले नेपाली संसदबाट पारित भएको अमेरिकी आर्थिक परियोजना एमसीसीको पनि कुरा उठाए । कडा चिनियाँ दुष्प्रचारका बावजूद नेपालले एमसीसी पारित गरेको उनले बताए ।
नेपाललाई भारत र चीनरूपी दुई ढुंगाको तरुल भनिने स्मरण गराउँदै टम्सनले ती दुई देशसँग नेपालको महत्त्वपूर्ण सम्बन्ध रहेको भए पनि नेपालले सार्वभौमसत्तालाई बलियो बनाउन र अमेरिकासँगको साझेदारी बढाउन प्रयास गरेको बताए ।
आफू राजदूत बनेमा नेपालको लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने पनि टम्सनले बताए । नेपालको लोकतन्त्रलाई समर्थन गर्नु अमेरिकाको हितमा भएको र त्यो आफ्नो प्राथमिकतामा रहने पनि टम्सनले बताए ।