प्रहरीले संरक्षित हात्तीको दाह्रा ओसारपसार तथा बेचविखनमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले इलाम, जितपुर–१, झरनाचोक घर भई झापा अर्जुनधारा नगरपालिका–३, खुदुनाबारी बस्ने वर्ष २५ का रमेश राईलाई पक्राउ गरेको हो । उनी बिहीवार खुदुनाबारीबाटै पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसअघि सोही आरोपमा प्रहरीले काठमाडौं चक्रपथबाट तीनजनालाई पक्राउ गरेको थियो । प्रहरीले १५.६८ के.जी. हात्तीको दाह्रासहित झापा भद्रपुर ७ का ५८ वर्षीय भीमकुमार भनिने भक्तिकुमार लिम्बु, ४२ वर्षीय अशोक कार्की र पाँचथर फिदिम ४ जोरसाल बस्ने ४३ वर्षीय रमेश सुवेदीलाई पक्राउ गरेको थियो । उनीहरू असार १७ गते पक्राउ परेका थिए ।
उक्त घटनाको अनुसन्धानका क्रममा रमेश राईको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।