भदौ ३ गते कृष्ण जन्माष्टमीको दिनलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘कृष्ण लीला’को ट्रेलर रिलिज गरिएको छ ।
बिहीवार युट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकार अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीबीचको प्रेमकथालाई देखाइएको छ ।
दीपक ओली निर्देशित चलचित्रमा पुष्प ‘कृष्ण’को भूमिकामा प्रस्तुत छन् भने श्रद्धाले ‘लीला’ नामक युवतीको भूमिका निर्वाह गरेकी छन् । यस चलचित्रमा पुष्पलाई अटिजम पीडित युवकको भूमिकामा देख्न सकिन्छ ।
बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नविन रेग्मी लगायतको पनि अभिनय रहेको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।
सञ्चारकर्मी समेत रहेका लक्ष्मण सुवेदीले यस चलचित्रको कथा लेखेका हुन् । चलचित्रमा समावेश गीतहरू यसअघि हिट भइसकेका छन् । कोरोना महामारीअघि नै निर्माण भएको चलचित्र लामो समयको प्रतिक्षापछि प्रदर्शनमा आउन लागेको हो ।