मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
असार ३०, २०७९
युक्रेनको डोनबास क्षेत्रमा रुसले एकपछि अर्को विजय प्राप्त गर्दा त्यसलाई उल्ट्याउने उद्देश्यका साथ पश्चिमले युक्रेनलाई हातहतियार सहयोग गरिरहेको छ ।
अमेरिकाका मूलधारे सञ्चारमाध्यमहरूले युक्रेनसँग रुसी आधिपत्यमा रहेका भूभाग फर्काउने हैसियत नरहेको खबर दिइरहेको भए पनि युक्रेनलाई हतियार सहयोग जारी राखी रुसलाई पराजय गर्न सकिने पश्चिमको दाउ छ । त्यसैले युक्रेनलाई भूभाग त्यागेर भए पनि रुससँग शान्तिवार्तामा बस्नका लागि गरिएका आह्वानलाई बेवास्ता गरिएको छ ।
गत मे महिनाको आरम्भमा अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसी युक्रेनको राजधानी किएभ पुगेकी थिइन् । युक्रेन विजयी नहुन्जेल उसलाई अमेरिकाले सहयोग गरिरहने उद्घोष उनले त्यहाँ गरेकी थिइन् ।
युक्रेनी विजय केलाई मान्ने भनी उनले व्याख्या गरिनन् । रुसले ओगटेका क्राइमियासहितका भूभागमा युक्रेनको पुनः आधिपत्य कायम गर्ने कामलाई विजय मान्ने कि युद्ध लम्ब्याइरहेर रुसलाई कमजोर बनाउन सकिए त्यो विजयको सूचक हुने ?
अमेरिकी अधिकारीहरूको बयानलाई विचार गरिहेर्दा उनीहरू दोस्रो विकल्पका लागि तयार रहेको पाइन्छ । त्यसैले कूटनीतिक पहल गरी कुनै किसिमको सम्झौतामार्फत यो युद्ध अन्त्य गराउने खासै संकेत पाइन्न यद्यपि युद्ध १०० दिन पुगेको बेलामा सीएनएनले छापेको खबरमा इटलीले युद्ध अन्त्यका लागि बनाएको फ्रेमवर्कमा अमेरिकी र युरोपेलीहरूले कुराकानी गरेको उल्लेख छ ।
तर त्यस वार्तामा युक्रेनलाई समावेश नगरिएकाले त्यसको दिगोपनको कुनै ग्यारेन्टी छैन र वार्ता खासै अघि बढेको पनि पाइँदैन । अहिलेको स्थितिमा युक्रेनका जति मान्छे मरे पनि रुसलाई पराजित गर्नैपर्ने अमेरिकाको सोच देखिन्छ जुन कुरा अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले अभिव्यक्त गरिसकेका छन् ।
अनि अमेरिकाकी उपविदेशमन्त्री वेन्डी आर शरम्यानले बीबीसीको न्युजआवरसँग कुरा गर्दै युक्रेनमा रुसले रणनीतिक पराजय बेहोर्नैपर्ने बताएकी छन् । त्यस्तो पराजयका लागि अमेरिकाले गर्ने योगदानका विषयमा राष्ट्रपति जो बाइडनले फेहरिस्त जारी गरेका छन् ।
केही दिनअघि उनले गरेको सम्बोधनमा उल्लेख भएअनुसार, अमेरिकाले युक्रेनलाई जेभलिन एन्टी ट्यांक क्षेप्यास्त्र, स्टिंगर एन्टी एयरक्राफ्ट क्षेप्यास्त्र, हिमार्स रकेट प्रणाली, रेडार, सशस्त्र ड्रोन, एमआई–१७ हेलिकप्टर र गोलीगट्ठा उपलब्ध गराउनेछ ।
हुन त हिमार्स आर्टिलरी प्रणालीको उपयोग गरी युक्रेनी सैनिकहरूले रुसका हतियार भण्डारलाई नष्ट गराउन दुईपटक सफलता पाएको बताइन्छ । खेर्सन क्षेत्रमा रहेको नोभा काखोव्कास्थित हतियार भण्डारलाई नष्ट गरेको युक्रेनको दाबी छ । रुसले चाहिँ त्यो हतियार भण्डार नभई मल गोदाम र निजी निवासहरू भएको बताएको छ ।
तर एकदुईवटा आक्रमणका आधारमा रुसलाई युक्रेनले पराजित गर्न सक्दैन किनकि रुससँग हातहतियार गोलीगट्ठाको कुनै कमी छैन । अनि हतियार भण्डारलाई जोगाउनका लागि रुसले विभिन्न उपाय अपनाइरहेको बताइन्छ ।
त्यसैले युद्ध लम्ब्याइरहँदा थप युक्रेनी सैनिकहरूको मृत्यु हुनेछ र त्यसभन्दा बढी सैनिकहरू युद्ध लड्नै नसक्ने गरी घाइते हुनेछन् । अहिले नै ५० हजारभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भइसकेको अनुमान छ र त्यसको लगभग तीन गुणा सैनिक घाइते अवस्थामा रहेको बताइन्छ ।
यस्तो स्थिति रहेकोमा युक्रेनले लड्ने उमेरका वयस्क पुरुषहरूलाई जबर्जस्ती सेनामा भर्ती गर्न थालेको खबर आइरहेको छ । गत १० जुलाईमा बेलायती पत्रिका द डेली मेलले दिएको खबरअनुसार, १८ देखि ६० वर्ष उमेरका पुरुषलाई सैनिकहरूले धरपकड गरेर भर्ती गर्न थालेका छन् ।
यसरी जबर्जस्ती भर्ती गराउने आदेश राष्ट्रपति भोलोदीमीर जेलेन्स्की तथा सेनाप्रमुखले दिएको बताइन्छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले दक्षिण युक्रेन पुनः नियन्त्रणमा लिनका लागि किएभले १० लाख सैनिकको जत्था बनाउन लागेको फुर्ती लगाएका छन् ।
तर डेली मेलको खबर पढ्दा युक्रेनीहरू अग्रमोर्चामा मरिने पक्का भएकाले सेनामा भर्ती हुन अनिच्छुक रहेको र उनीहरूलाई जबर्जस्ती ल्याउन थालिएको पाइन्छ । यसले सरकार तथा सेनाप्रति जनताको आक्रोश थप बढाउनेछ ।
तर जेलेन्स्की र युक्रेनका ठूलाठालुहरू युद्ध अन्त्यका लागि ठोस पहल गर्नै खोजिरहेका छैनन् । भूमि त्याग्ने शर्तमा शान्ति सम्झौताको कुरा उनीहरू सुन्नै चाहँदैनन् ।
जेलेन्स्कीले जाडो महिना शुरू हुनुअघि युद्ध अन्त्य भएको हेर्न चाहेको भने पनि युद्ध रोक्ने निर्णय उनी र युक्रेनी अधिकारीहरूको हातमा छैन । अमेरिकाले संकेत नगरेसम्म उनीहरू एक्लैले युद्ध रोक्नका लागि वार्ता गर्ने हैसियत राख्दैनन् ।
जेलेन्स्कीको सर्भेन्ट अफ द पिपुल पार्टीका सांसद ओलेक्सी मोव्चानले रुससँग वार्ता गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रुसीहरूले धेरै शहरहरू ध्वस्त पारिसकेका छन् र धेरै महिलालाई बलात्कार गरिसकेका छन्, उनले आरोप लगाए । अहिले युद्ध अन्त्य भएर पुटिनलाई संसारले मान्यता दिएमा अन्तर्राष्ट्रिय कानूनको कुनै अर्थ नहुने मोव्चानको भनाइ छ ।
हुन त यो युद्ध टुंगिएमा आफ्नो सम्पूर्ण ध्यान चीनतर्फ केन्द्रित गर्न सकिने सोच बाइडन प्रशासनले राखेको छ । तर रुसको विजय कुनै हालतमा पनि स्वीकार्य नभएकाले युक्रेनलाई हातहतियार सहयोग गरिरहने अमेरिकाको भनाइ छ । रुसलाई जित्न दिएमा ठूला राष्ट्रले साना राष्ट्रमाथि शक्तिप्रयोग गर्ने सिलसिला शुरू हुने अमेरिकी अधिकारीहरू बताउँछन् ।
विपक्षी दल र सञ्चारमाध्यमहरू बन्द गराउने जेलेन्स्की अहिले अमेरिकाका लागि लोकतन्त्रका पहरेदार बनेका छन् । नयाँ शीतयुद्धमा लोकतन्त्र निरंकुशतन्त्रबाट पराजित हुने स्थिति आउनु अमेरिकाका लागि लज्जाजनक कुरा हुनेछ । त्यसैले रुसी निरंकुशतन्त्रबाट युक्रेनी लोकतन्त्रलाई बचाउनु अमेरिकाका लागि अत्यन्तै महत्त्वपूर्ण कार्य हो र हतियार सहयोग गरेर ऊ त्यसमा योगदान गर्न चाहन्छ ।
त्यसो त युद्ध लम्बिँदै जाँदा अमरिकाको हतियार उद्योगले कीर्तिमान मुनाफा कमाइरहेको तथ्य पनि भुल्न मिल्दैन । देशमा महंगी बढेर सामान्यजनको जीवनस्तर कमजोर बनिरहेको बेलामा हतियार उद्योग चलाउने धनाढ्यहरूको सम्पत्तिचाहिँ दिन दुईगुणा रात चौगुणा बढिरहेको छ । हतियार उद्योगीहरूको पकड अमेरिकी संसदमा बलियो भएकाले युद्ध लम्ब्याइरहन अमेरिकी अधिकारीहरूलाई दबाब परेको छ ।
तर खतरनाक कुरा के भने युक्रेनका लागि भनेर पठाइएका सबै हतियार युक्रेनी सैनिककहाँ पुगे नपुगेको नै निश्चित छैन । अप्रिल १९ मा सीएनएनले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार, स्वयं अमेरिकी अधिकारीहरू नै युक्रेन पठाइएको हतियार कहाँ पुग्छ भन्नेमा ढुक्क छैनन् ।
द वाशिङटन पोस्टले मे १४ मा प्रकाशित गरेको समाचार अनुसार त युक्रेन पठाइएका हतियार कालोबजारी गरी अवाञ्छित समूहकहाँ पुगिरहेको संकेत पाइन्छ । रुसले युक्रेनविरुद्ध सन् २०१४ मा शुरू गरेको हाइब्रिड युद्धदेखि नै युक्रेनमा हतियारहरूको अवैध कारोबार बढेको त्यसमा उल्लेख छ ।
सर्बियाली विश्लेषक स्लाभिशा ब्लाट्को मिलासिच टनका टन विदेशी हातहतियार युक्रेनी युद्धको मोर्चामा नपुग्ने बरू असंख्य दलालहरूको हातमा पुग्ने गरेको लेख्छन् । ती दलालहरूले डार्क वेबमा हतियार आतंकवादी र विद्रोही समूहहरूलाई बेच्ने गरेका छन् ।
यस्तो स्थिति रहेकाले युरोप तथा पश्चिम एसियामा अवैध रूपमा हतियारको बाढी आउन लागेको छ । त्यसले उक्त क्षेत्रको शान्तिलाई लामो समयसम्म खलबल्याउनेछ । पश्चिमका घोर विरोधी तत्त्वको हातमा ती हतियार पुग्ने वा टाढाटाढा कुनाकाप्चामा चलिरहेका द्वन्द्वमा ती हतियार उपयोग गरिने सम्भावना रहेको द वाशिङटन पोस्टको रिपोर्टले पनि उल्लेख गरेको छ ।
त्यसो त रुसका राष्ट्रपति पुटिनले नचाहुन्जेल पनि युद्ध अन्त्य हुने छैन । लुगान्स्क क्षेत्र पूर्ण नियन्त्रणमा लिइसकेको रुस डोनेत्स्क क्षेत्र पनि हात पार्नका लागि द्रुत गतिमा अघि बढेको छ ।
ती दुवै क्षेत्र रुसको नियन्त्रणमा पुगेमा पुटिनले यो युद्ध शुरू गर्नुको एक उद्देश्य पूरा भएको भन्न पाउँछन् । डोनबास क्षेत्रलाई युक्रेनी दमनबाट मुक्त गर्ने उद्देश्यका बारेमा पुटिनले युद्ध शुरू भएको दिन कुरा झिकेका थिए ।
तर रुस डोनबास क्षेत्रमा मात्र सीमित रहने कुनै ग्यारेन्टी नरहेको सीएनएनका रब पिचेता लेख्छन् । डोनबासको सीमाबाट अघि बढी नीप्रो (नीपर) नदीको किनारसम्म पुग्ने पुटिनको उद्देश्य हुन सक्ने उनको अनुमान छ । नीपर नदी युक्रेनको ठीक बीचबाट बग्छ र त्यसको पूर्वी किनारा सबै कब्जा गरेर आधा युक्रेन हात पार्ने निर्णय पुटिनले लिन सक्छन् । त्यस्तो अवस्था पश्चिमका लागि पूर्णतया अस्वीकार्य रहन्छ र युद्ध थप लम्बिन्छ ।
रुसको तेवर हेर्दा ऊ युक्रेनमा मात्र नरोकिएर नेटोसँगै युद्ध गर्न तयार रहेको देखिन्छ । उसले आफ्ना उम्दा र अत्याधुनिक हतियार अझै उपयोग गर्न बाँकी नै छ । यसैबीच रुसलाई युद्धभूमिमा हराएर देखाउन पुटिनले पश्चिमलाई चुनौती नै दिएका छन् ।
तर युद्ध लम्बिँदा युरोपको अर्थतन्त्र थप कमजोर बन्दै जान्छ । पछिपछि गएर युरोपेलीहरू बढ्दो महंगीका कारण कष्टकर जीवन बिताउन नसकी विद्रोहमा ओर्लने खतरा रहन्छ ।
अहिलेका लागि अमेरिकाले व्यापक रूपमा हातहतियार युक्रेनलाई उपलब्ध गराउला । अनि युरोपका अन्य मुलुकले युक्रेनी शरणार्थीहरूलाई स्वागत गरिरहलान् । तर यो कति बेलासम्म कायम रहला ?
आफ्नो राष्ट्रिय स्वार्थलाई सर्वोपरि राख्नुपर्ने बाध्यता सबै मुलुकको हुन्छ र अमेरिका तथा युरोपेली मुलुकहरूको हकमा पनि त्यही कुरा लागू हुन्छ । त्यसैले सदासर्वदाका लागि युक्रेनलाई सहयोग गरिरहन उनीहरू सक्दैनन् । बाध्य भएर उनीहरूले शान्तिवार्ताको पहल गर्नुपर्ने हुन्छ ।
तर त्यस अवधिसम्म उनीहरू युक्रेनलाई हातहतियार सहयोग गरिरहनेछन् र अन्तिम युक्रेनीको सास रहुन्जेल लड्नका लागि उक्साइरहनेछन् ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...