युक्रेनको डोनबास क्षेत्रमा रुसले एकपछि अर्को विजय प्राप्त गर्दा त्यसलाई उल्ट्याउने उद्देश्यका साथ पश्चिमले युक्रेनलाई हातहतियार सहयोग गरिरहेको छ ।
अमेरिकाका मूलधारे सञ्चारमाध्यमहरूले युक्रेनसँग रुसी आधिपत्यमा रहेका भूभाग फर्काउने हैसियत नरहेको खबर दिइरहेको भए पनि युक्रेनलाई हतियार सहयोग जारी राखी रुसलाई पराजय गर्न सकिने पश्चिमको दाउ छ । त्यसैले युक्रेनलाई भूभाग त्यागेर भए पनि रुससँग शान्तिवार्तामा बस्नका लागि गरिएका आह्वानलाई बेवास्ता गरिएको छ ।
गत मे महिनाको आरम्भमा अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसी युक्रेनको राजधानी किएभ पुगेकी थिइन् । युक्रेन विजयी नहुन्जेल उसलाई अमेरिकाले सहयोग गरिरहने उद्घोष उनले त्यहाँ गरेकी थिइन् ।
युक्रेनी विजय केलाई मान्ने भनी उनले व्याख्या गरिनन् । रुसले ओगटेका क्राइमियासहितका भूभागमा युक्रेनको पुनः आधिपत्य कायम गर्ने कामलाई विजय मान्ने कि युद्ध लम्ब्याइरहेर रुसलाई कमजोर बनाउन सकिए त्यो विजयको सूचक हुने ?
अमेरिकी अधिकारीहरूको बयानलाई विचार गरिहेर्दा उनीहरू दोस्रो विकल्पका लागि तयार रहेको पाइन्छ । त्यसैले कूटनीतिक पहल गरी कुनै किसिमको सम्झौतामार्फत यो युद्ध अन्त्य गराउने खासै संकेत पाइन्न यद्यपि युद्ध १०० दिन पुगेको बेलामा सीएनएनले छापेको खबरमा इटलीले युद्ध अन्त्यका लागि बनाएको फ्रेमवर्कमा अमेरिकी र युरोपेलीहरूले कुराकानी गरेको उल्लेख छ ।
तर त्यस वार्तामा युक्रेनलाई समावेश नगरिएकाले त्यसको दिगोपनको कुनै ग्यारेन्टी छैन र वार्ता खासै अघि बढेको पनि पाइँदैन । अहिलेको स्थितिमा युक्रेनका जति मान्छे मरे पनि रुसलाई पराजित गर्नैपर्ने अमेरिकाको सोच देखिन्छ जुन कुरा अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले अभिव्यक्त गरिसकेका छन् ।
अनि अमेरिकाकी उपविदेशमन्त्री वेन्डी आर शरम्यानले बीबीसीको न्युजआवरसँग कुरा गर्दै युक्रेनमा रुसले रणनीतिक पराजय बेहोर्नैपर्ने बताएकी छन् । त्यस्तो पराजयका लागि अमेरिकाले गर्ने योगदानका विषयमा राष्ट्रपति जो बाइडनले फेहरिस्त जारी गरेका छन् ।
केही दिनअघि उनले गरेको सम्बोधनमा उल्लेख भएअनुसार, अमेरिकाले युक्रेनलाई जेभलिन एन्टी ट्यांक क्षेप्यास्त्र, स्टिंगर एन्टी एयरक्राफ्ट क्षेप्यास्त्र, हिमार्स रकेट प्रणाली, रेडार, सशस्त्र ड्रोन, एमआई–१७ हेलिकप्टर र गोलीगट्ठा उपलब्ध गराउनेछ ।
हुन त हिमार्स आर्टिलरी प्रणालीको उपयोग गरी युक्रेनी सैनिकहरूले रुसका हतियार भण्डारलाई नष्ट गराउन दुईपटक सफलता पाएको बताइन्छ । खेर्सन क्षेत्रमा रहेको नोभा काखोव्कास्थित हतियार भण्डारलाई नष्ट गरेको युक्रेनको दाबी छ । रुसले चाहिँ त्यो हतियार भण्डार नभई मल गोदाम र निजी निवासहरू भएको बताएको छ ।
तर एकदुईवटा आक्रमणका आधारमा रुसलाई युक्रेनले पराजित गर्न सक्दैन किनकि रुससँग हातहतियार गोलीगट्ठाको कुनै कमी छैन । अनि हतियार भण्डारलाई जोगाउनका लागि रुसले विभिन्न उपाय अपनाइरहेको बताइन्छ ।
त्यसैले युद्ध लम्ब्याइरहँदा थप युक्रेनी सैनिकहरूको मृत्यु हुनेछ र त्यसभन्दा बढी सैनिकहरू युद्ध लड्नै नसक्ने गरी घाइते हुनेछन् । अहिले नै ५० हजारभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भइसकेको अनुमान छ र त्यसको लगभग तीन गुणा सैनिक घाइते अवस्थामा रहेको बताइन्छ ।
यस्तो स्थिति रहेकोमा युक्रेनले लड्ने उमेरका वयस्क पुरुषहरूलाई जबर्जस्ती सेनामा भर्ती गर्न थालेको खबर आइरहेको छ । गत १० जुलाईमा बेलायती पत्रिका द डेली मेलले दिएको खबरअनुसार, १८ देखि ६० वर्ष उमेरका पुरुषलाई सैनिकहरूले धरपकड गरेर भर्ती गर्न थालेका छन् ।
यसरी जबर्जस्ती भर्ती गराउने आदेश राष्ट्रपति भोलोदीमीर जेलेन्स्की तथा सेनाप्रमुखले दिएको बताइन्छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले दक्षिण युक्रेन पुनः नियन्त्रणमा लिनका लागि किएभले १० लाख सैनिकको जत्था बनाउन लागेको फुर्ती लगाएका छन् ।
तर डेली मेलको खबर पढ्दा युक्रेनीहरू अग्रमोर्चामा मरिने पक्का भएकाले सेनामा भर्ती हुन अनिच्छुक रहेको र उनीहरूलाई जबर्जस्ती ल्याउन थालिएको पाइन्छ । यसले सरकार तथा सेनाप्रति जनताको आक्रोश थप बढाउनेछ ।
तर जेलेन्स्की र युक्रेनका ठूलाठालुहरू युद्ध अन्त्यका लागि ठोस पहल गर्नै खोजिरहेका छैनन् । भूमि त्याग्ने शर्तमा शान्ति सम्झौताको कुरा उनीहरू सुन्नै चाहँदैनन् ।
जेलेन्स्कीले जाडो महिना शुरू हुनुअघि युद्ध अन्त्य भएको हेर्न चाहेको भने पनि युद्ध रोक्ने निर्णय उनी र युक्रेनी अधिकारीहरूको हातमा छैन । अमेरिकाले संकेत नगरेसम्म उनीहरू एक्लैले युद्ध रोक्नका लागि वार्ता गर्ने हैसियत राख्दैनन् ।
जेलेन्स्कीको सर्भेन्ट अफ द पिपुल पार्टीका सांसद ओलेक्सी मोव्चानले रुससँग वार्ता गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रुसीहरूले धेरै शहरहरू ध्वस्त पारिसकेका छन् र धेरै महिलालाई बलात्कार गरिसकेका छन्, उनले आरोप लगाए । अहिले युद्ध अन्त्य भएर पुटिनलाई संसारले मान्यता दिएमा अन्तर्राष्ट्रिय कानूनको कुनै अर्थ नहुने मोव्चानको भनाइ छ ।
हुन त यो युद्ध टुंगिएमा आफ्नो सम्पूर्ण ध्यान चीनतर्फ केन्द्रित गर्न सकिने सोच बाइडन प्रशासनले राखेको छ । तर रुसको विजय कुनै हालतमा पनि स्वीकार्य नभएकाले युक्रेनलाई हातहतियार सहयोग गरिरहने अमेरिकाको भनाइ छ । रुसलाई जित्न दिएमा ठूला राष्ट्रले साना राष्ट्रमाथि शक्तिप्रयोग गर्ने सिलसिला शुरू हुने अमेरिकी अधिकारीहरू बताउँछन् ।
विपक्षी दल र सञ्चारमाध्यमहरू बन्द गराउने जेलेन्स्की अहिले अमेरिकाका लागि लोकतन्त्रका पहरेदार बनेका छन् । नयाँ शीतयुद्धमा लोकतन्त्र निरंकुशतन्त्रबाट पराजित हुने स्थिति आउनु अमेरिकाका लागि लज्जाजनक कुरा हुनेछ । त्यसैले रुसी निरंकुशतन्त्रबाट युक्रेनी लोकतन्त्रलाई बचाउनु अमेरिकाका लागि अत्यन्तै महत्त्वपूर्ण कार्य हो र हतियार सहयोग गरेर ऊ त्यसमा योगदान गर्न चाहन्छ ।
त्यसो त युद्ध लम्बिँदै जाँदा अमरिकाको हतियार उद्योगले कीर्तिमान मुनाफा कमाइरहेको तथ्य पनि भुल्न मिल्दैन । देशमा महंगी बढेर सामान्यजनको जीवनस्तर कमजोर बनिरहेको बेलामा हतियार उद्योग चलाउने धनाढ्यहरूको सम्पत्तिचाहिँ दिन दुईगुणा रात चौगुणा बढिरहेको छ । हतियार उद्योगीहरूको पकड अमेरिकी संसदमा बलियो भएकाले युद्ध लम्ब्याइरहन अमेरिकी अधिकारीहरूलाई दबाब परेको छ ।
तर खतरनाक कुरा के भने युक्रेनका लागि भनेर पठाइएका सबै हतियार युक्रेनी सैनिककहाँ पुगे नपुगेको नै निश्चित छैन । अप्रिल १९ मा सीएनएनले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार, स्वयं अमेरिकी अधिकारीहरू नै युक्रेन पठाइएको हतियार कहाँ पुग्छ भन्नेमा ढुक्क छैनन् ।
द वाशिङटन पोस्टले मे १४ मा प्रकाशित गरेको समाचार अनुसार त युक्रेन पठाइएका हतियार कालोबजारी गरी अवाञ्छित समूहकहाँ पुगिरहेको संकेत पाइन्छ । रुसले युक्रेनविरुद्ध सन् २०१४ मा शुरू गरेको हाइब्रिड युद्धदेखि नै युक्रेनमा हतियारहरूको अवैध कारोबार बढेको त्यसमा उल्लेख छ ।
सर्बियाली विश्लेषक स्लाभिशा ब्लाट्को मिलासिच टनका टन विदेशी हातहतियार युक्रेनी युद्धको मोर्चामा नपुग्ने बरू असंख्य दलालहरूको हातमा पुग्ने गरेको लेख्छन् । ती दलालहरूले डार्क वेबमा हतियार आतंकवादी र विद्रोही समूहहरूलाई बेच्ने गरेका छन् ।
यस्तो स्थिति रहेकाले युरोप तथा पश्चिम एसियामा अवैध रूपमा हतियारको बाढी आउन लागेको छ । त्यसले उक्त क्षेत्रको शान्तिलाई लामो समयसम्म खलबल्याउनेछ । पश्चिमका घोर विरोधी तत्त्वको हातमा ती हतियार पुग्ने वा टाढाटाढा कुनाकाप्चामा चलिरहेका द्वन्द्वमा ती हतियार उपयोग गरिने सम्भावना रहेको द वाशिङटन पोस्टको रिपोर्टले पनि उल्लेख गरेको छ ।
त्यसो त रुसका राष्ट्रपति पुटिनले नचाहुन्जेल पनि युद्ध अन्त्य हुने छैन । लुगान्स्क क्षेत्र पूर्ण नियन्त्रणमा लिइसकेको रुस डोनेत्स्क क्षेत्र पनि हात पार्नका लागि द्रुत गतिमा अघि बढेको छ ।
ती दुवै क्षेत्र रुसको नियन्त्रणमा पुगेमा पुटिनले यो युद्ध शुरू गर्नुको एक उद्देश्य पूरा भएको भन्न पाउँछन् । डोनबास क्षेत्रलाई युक्रेनी दमनबाट मुक्त गर्ने उद्देश्यका बारेमा पुटिनले युद्ध शुरू भएको दिन कुरा झिकेका थिए ।
तर रुस डोनबास क्षेत्रमा मात्र सीमित रहने कुनै ग्यारेन्टी नरहेको सीएनएनका रब पिचेता लेख्छन् । डोनबासको सीमाबाट अघि बढी नीप्रो (नीपर) नदीको किनारसम्म पुग्ने पुटिनको उद्देश्य हुन सक्ने उनको अनुमान छ । नीपर नदी युक्रेनको ठीक बीचबाट बग्छ र त्यसको पूर्वी किनारा सबै कब्जा गरेर आधा युक्रेन हात पार्ने निर्णय पुटिनले लिन सक्छन् । त्यस्तो अवस्था पश्चिमका लागि पूर्णतया अस्वीकार्य रहन्छ र युद्ध थप लम्बिन्छ ।
रुसको तेवर हेर्दा ऊ युक्रेनमा मात्र नरोकिएर नेटोसँगै युद्ध गर्न तयार रहेको देखिन्छ । उसले आफ्ना उम्दा र अत्याधुनिक हतियार अझै उपयोग गर्न बाँकी नै छ । यसैबीच रुसलाई युद्धभूमिमा हराएर देखाउन पुटिनले पश्चिमलाई चुनौती नै दिएका छन् ।
तर युद्ध लम्बिँदा युरोपको अर्थतन्त्र थप कमजोर बन्दै जान्छ । पछिपछि गएर युरोपेलीहरू बढ्दो महंगीका कारण कष्टकर जीवन बिताउन नसकी विद्रोहमा ओर्लने खतरा रहन्छ ।
अहिलेका लागि अमेरिकाले व्यापक रूपमा हातहतियार युक्रेनलाई उपलब्ध गराउला । अनि युरोपका अन्य मुलुकले युक्रेनी शरणार्थीहरूलाई स्वागत गरिरहलान् । तर यो कति बेलासम्म कायम रहला ?
आफ्नो राष्ट्रिय स्वार्थलाई सर्वोपरि राख्नुपर्ने बाध्यता सबै मुलुकको हुन्छ र अमेरिका तथा युरोपेली मुलुकहरूको हकमा पनि त्यही कुरा लागू हुन्छ । त्यसैले सदासर्वदाका लागि युक्रेनलाई सहयोग गरिरहन उनीहरू सक्दैनन् । बाध्य भएर उनीहरूले शान्तिवार्ताको पहल गर्नुपर्ने हुन्छ ।
तर त्यस अवधिसम्म उनीहरू युक्रेनलाई हातहतियार सहयोग गरिरहनेछन् र अन्तिम युक्रेनीको सास रहुन्जेल लड्नका लागि उक्साइरहनेछन् ।