भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको शुक्रवार सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो ।
गृहमन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गरे । नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताए । गृहमन्त्री खाणले नेपाल धेरै प्रकारका विपद्को उच्च जोखिममा रहेको स्मरण गराउँदै विपद्को घडीमा भारत सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरेका छन् ।
समारोहमा राजदूत श्रीवास्तवले भारत र नेपाल सुख, दुःखको साथी रहेको तथा आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउने कोसिस रहने प्रतिबद्धता जनाए । मनसुनको सुरुआतमा राहत सामग्री सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै राजदूत श्रीवास्तवले प्रकोप प्रभावितका लागि सहयोग जारी रहने विश्वास दिलाए ।