
नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्दा खानीहरू बेवारिसे बनेका छन् ।
पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन् ।
सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ ।
तर, कुनै पनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन एवं सदुपयोग हुन सकेका छैनन् ।
सरकार सञ्चालनका लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल उत्खनन हुन सकेको छैन ।
मोरङको बेलबारी नगरपालिका-८ बाहुनीमा रहेको खानीको अवस्था पनि त्यस्तै छ ।

सरकारले चासो नदिँदा पेट्रोल खानी जीर्ण बन्दै गएको छ । अन्वेषण गर्न बनेका भवन भग्नावशेष भइसकेको छ भने अन्वेषण गर्न ल्याएको कच्चा पदार्थहरू नष्ट भएका छन् ।
सरकारले बेलाबेला आएर हेर्ने बाहेक अन्य काम गर्न नसकेको बताउँछन्, स्थानीय कुलबहादुर भण्डारी । उनले सरकारले पूर्ण चासो दिएर काम गर्ने हो भने पेट्रोलका लागि अहिलेको अवस्थाको सामना गर्नु नपर्ने बताए ।
२०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरे पनि सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेको स्थानीय यामप्रसाद तिम्सिनाको गुनासो छ ।
उक्त कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको बताए ।

३४/३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको उनको भनाइ छ । उक्त स्थानको खानी सञ्चालनमा नल्याउन भारतको दबाब दिएको गुनासो रहेको बताए ।
उनले नेपालको उक्त खानी सञ्चालन गरे भारतको खानी सुक्ने भएकोले भारतले नदिएको गुनासो आउने गरेको बताए ।
२०४५ सालमा चाइना कम्पनीले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका पाले कपिलमणि रेग्मीले बताए ।
अहिले खानी आसपासको क्षेत्र गौचरणमा सीमित भएको उनको भनाइ छ ।

सरकारको बेवास्ताका कारण हाल उक्त स्थान जंगलमा परिणत भएको छ । सरकारको मुख्य समस्या पेट्रोलियम पदार्थको खानी स्वदेशमा नै रहे पनि आफूसँग भएका खानी सञ्चालन गर्न सकेको छैन ।
बेलबारी-८, बाहुनीमा रहेको व्यक्तिको ४.९६९ वर्गमिटर जमिन खानी तथा भूगर्भ विभागले किनेको छ । अहिले खानी सञ्चालनका
लागि विदेशबाट मगाइएका सामानहरू बेवारिसे भइ खेर गएको स्थानीयवासीको भनाइ छ ।