
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच लागू भएको युद्धविराम समाप्त भएको घोषणा गर्दै इरानले चाहेमा वार्ता भने जारी राख्न अमेरिका तयार रहेको बताएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै इरानले अमेरिकासँग संवाद जारी राख्न अनुरोध गरेको र त्यसका लागि अमेरिका सहमत रहेको उल्लेख गरेका छन्। तर उनले युद्धविराम भने अब समाप्त भइसकेको स्पष्ट पारे।
पछिल्ला दिनमा हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले पुनः आक्रमण सुरु गरेपछि युद्धविरामको उल्लङ्घन भएको अमेरिकी दाबी छ।
यसको जवाफमा अमेरिकी सेनाले इरानका सैन्य अड्डा, मिसाइल भण्डार र बुशहर परमाणु संयन्त्र आसपासका क्षेत्रमा हवाई आक्रमण गरेको बताइएको छ। त्यसपछि इरानले कतार, कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ।
दुवै पक्षबीच तनाव चुलिए पनि ट्रम्पको अभिव्यक्तिले कूटनीतिक संवादको सम्भावना भने अझै खुला रहेको संकेत दिएको छ।