०१ असार २०८३, सोमबार

सिद्धान्तअनुसार अभ्यास नगराउँदा अनुवादमा आएन गुणस्तर

सिद्धान्तअनुसार अभ्यास नगराउँदा अनुवादमा आएन गुणस्तर

विश्वविद्यालयमा अध्यापन गराइने अनुवाद सिद्धान्तका आधारमा अभ्यास नगराउँदा अनुवादमा हुनुपर्ने जति गुणस्तर आउन नसकेको बताइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले आज आयोजना गरेको ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरु’ विषयक विचार गोष्ठीका सहभागी वक्ताले राम्रो अनुवादका लागि सिद्धान्तअनुसारको अभ्यास गराउनुपर्नेमा जोड दिएका हुन् । 

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यको वैश्विक आदानप्रदानका लागि अनुवाद आवश्यक रहेको बताए । नेपाली भाषा, साहित्यलाई विश्वस्तरमा लैजान प्रतिष्ठानले पनि अनुवादलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो । 

प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले अनुवादको काम विसं २०१६ देखि गर्न थालिएकामा २०६६ सालमा साहित्य (अनुवाद) विभागको स्थापना भएपछि कामले अझ तीव्रता पाउन थालेको सुनाए । अनुवादमा महत्वपूर्ण काम भने २०७१ सालपछि हुन थालेको हो । 

सुरुआती चरणमा प्रतिष्ठानले संस्कृत, अङ्ग्रेजी र रुसी भाषा साहित्यका पुस्तक अनुवाद गरेको थियो । प्रतिष्ठानले २०७४ मा ‘अनुवादक कोश’,  २०७७ सालमा अनुवाद सन्दर्भ ग्रन्थ प्रकाशन गरेको जानकारी पनि उनले दिए । अनुवाद क्षेत्रमा भएका राम्रा कामको प्रोत्साहनका लागि प्रतिष्ठानले नेपाल प्रज्ञा अनुवाद पुरस्कार पनि स्थापना गरेको छ ।
 
प्रत्येक दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलोपटक अनुवादक कृष्णप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यो पुरस्कार दोस्रोपटक दिनका लागि छनोटको प्रक्रिया सुरु गर्ने बेला भएको जनाइएको छ । 

सो अवसरमा प्रा डा मोहन लोहनीले अनुवादकमा भाषाका साथै सांस्कृतिक ज्ञानको पनि आवश्यकता पर्ने बताए । अनुवादको सिद्धान्त ग्रहण नगरी गरिएको अनुवादमा गुणस्तर नहुने उनको विचार थियो ।

कार्यक्रममा प्रा डा अभि सुवेदीले अनुवादका लागि विश्व दृष्टिकोण आवश्यक पर्ने बताए ।  अन्य क्षेत्रजस्तै अनुवादमा पनि सिद्धान्त र व्यवहारको द्वन्द्व पहिल्यैदेखि हुँदै आएको उनले सुनाए । 
 ‘नेपालमा साहित्य अनुवादका समस्या र निराकरणका उपायहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्दै महेन्द्ररत्न क्याम्पस ताहाचलका डा बलराम अधिकारीले अनुवादमा व्यावसायिक सम्पादन नहुँदा गुणस्तरमा ह्रास आएको भनाइ राखे । 

salt training

कमेन्ट गर्नुहोस्