
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधि सभा चुनावमा अहिलेकै सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । उनले संविधानको रक्षाका लागि पनि अहिलेको गठबन्धन चुनावसम्म जाने बताएका हुन् ।
शनिवार साँझ पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकलाई सम्वोधन गर्दै देउवाले चुनावी तालमेलको विरोध गरेर उग्र क्रान्तिकारीपारा नदेखाउन नेताहरुलाई चेतावनी दिए । स्थानीय चुनावमा पनि गठबन्धनका कारण कांग्रेसलाई फाइदा पुगेको भन्दै उनले गठबन्धनको बचाउ गरेका हुन् ।
‘प्रचण्डजीलाई गिरिजाबाबुले दिल्ली पुगेर शान्ति प्रक्रियामा ल्याउनु भएको हो, माधवजी केपी ओलीलाई छाडेर आएका हुन् । दुवैलाई छाड्न सक्दिनँ’ देउवाले भने, ‘चुनावमा यही गठबन्धनबीच तालमेल हुन्छ, त्यही अनुसार बुझ्नु ।’प्रधानमन्त्री देउवाले देश आर्थिक संकटमा रहेको समयमा हतियार खरिदको निर्णय नगर्ने बताए ।
६०/४० को कुरा पहिलै सकियो
देउवाले पार्टीभित्र गुटबन्दी नगर्न आग्रह गरे । कांग्रेसमा रहेको ६० र ४० को गुट गिरिजाबाबु र किसुनजीको पालाको भन्दै अहिले त्यसको अस्तित्व नभएको बताए । ‘मेरो एउटै उद्देश्य कांग्रेसलाई देशको पहिलो पार्टी बनाएर सक्षम व्यक्तिलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने हो’ देउवाले बैठकमा भने, ‘नचाहिने कुरामा आलोचना गर्दै गुटको भेला नगर्नुस् ।’
बैठकमा महामन्त्री गगन थापाले महाधिवेशनको ६ महिना पूरा हुँदापनि विधान अनुसार चल्न नसकेको भन्दै देउवाको आलोचना गरेका थिए । ‘महाधिवेशनको म्याण्डेट नेतृत्व सुधारियोस् भन्ने थियो । हाम्रो कार्यशैलीमा कुनै सुधार भएन’ थापाले भने ।
पदाधिकारीहरु सहित सभापतिले समेत बोल्ने क्रम सकिएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । सोमवार बस्ने बैठकमा भ्रातृ संगठनको विषयमा छलफल र निर्णय हुने उनले बताए । विभिन्न प्रस्ताव पारित गर्दै केन्द्रीय समिति बैठक सोमवार नै सम्पन्न गर्ने कांग्रेसको तयारी छ ।