२१ असार २०८३, आइतबार

काठमाडौं उपत्यकामा ‘मेयर फोरम’ ब्युँतिदै

काठमाडौं उपत्यकामा ‘मेयर फोरम’ ब्युँतिदै
फाइल फोटो

काठमाडौं उपत्यकाका पालिकाबीचमा सहकार्य गर्न पुनः उपत्यकाका मेयर फोरमलाई सक्रिय बनाइन लागिएको छ ।

पहिलो स्थानीय तहको निर्वाचन पछि गठन भएको सो सस्थाको पहिलो पटक चन्द्रागिरिमा नै बसेको थियो । यसका लागि चन्द्रागिरि नगरपालिकाले सक्रियता देखाएको छ ।

फोहरमैला व्यवस्थापन, खानेपानी, कर, ट्राफिक व्यवस्थापन र पर्यटनका क्षेत्रमा साझा अवधारणा तय गरी काम गर्न फोरमले सहयोग पुग्ने नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

उनले भने, ‘उपत्यका मेयर फोरमको बैठकको आतिथ्यता चन्द्रागिरिले गर्ने छ । बैठक राख्न मैले समन्वय गरिराखेको छु । छिट्टै फोरमको बैठक हुन्छ । त्यही बैठकमा उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा स्क्यानिङ मेसिन राख्नेलगायत विषयमा कुरा राख्छु ।’

काठमाडौं महानगरपालिकाले नागढुङ्गामा स्क्यानिङ मशिन राख्न सकारात्मक रहेको जनाएको छ । शनिवार फोहर व्यवस्थापनसम्बन्धी कुराकानी गर्न चन्द्रागिरि पुगेका कामपाका प्रमुख बालेन्द्र साहले भने, ‘नागढुंगामा भेइकल स्क्यानिङ मशिन राख्ने चन्द्रागिरिका मेयरसा’पको प्रस्तावमा म सकारात्मक छु  । मशिन खरिदमा कसरी सहकार्य गर्ने भन्ने विषय अध्यन गरौं । सम्भव हुन्छ भने नाकामा नै ‘वासिङ मशिन’ पनि राखौं ।’ 

कलंकी–नागढुंगा राजमार्गमा गुड्ने ठूला सवारी साधन तथा स्थानीय बसमा समेत अनिवार्य फोहर राख्न ‘डस्टबिन’ राख्नुपर्ने प्रावधानलाई नगरपालिकाले कडाइ गर्ने जनाएको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहर संकलनका लागि नगरवासीलाई झोला वितरणको तयारी समेत गरेको चद्रागिरि नगर प्रमुख गिरीले बताए ।

नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत पहिलो चरणमा कलंकी–नागढुंगा–पिपलामोड सडकखण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सीसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो । यसबाट सो राजमार्गमा सडक दुर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो । नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सीसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ । 

उनले भने, ‘पहिलो चरणमा उक्त सडकखण्डमा ८० थान उच्च प्रविधिको सीसी क्यामरा र करीब ५०० थान सडकबत्ती जडान गरिएको थियो । यसै वर्ष आवश्यकता अनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्