रूपन्देहीको तिलोत्तमा नगरपालिका– ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई प्रहरीले पौडीपोखरीमा धकेलेको भिडियो भाइरल भएपछि प्रहरी मुख्यालयले बुटवलका डीएसपीलाई स्पष्टीकरण सोधेको छ ।
बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडीपोखरीमा धकेलिदिएपछि चौतर्फी आलोचना भएको थियो । उक्त घटनाका सम्बन्धमा डिएपी केसीलाई स्पष्टीकरण सोधिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।
‘घटनाको प्रहरी प्रधान कार्यालयको ध्यान आकर्षण भएको छ । के भएको हो ? भन्ने कुराको जवाफ मागेका छौँ,’ डीआईजी राईले लोकान्तरलाई बताए ।
डिएपी केसीले तिलोत्तमा नगरसभाको विषयलाई लिएर भएको विवादका क्रममा वडाध्यक्ष क्षेत्रीलाई धकेलेका थिए । आइतवार बोलाइएको नगरसभा गणपूरक संख्या नपुगेको भन्दै मेयर र उपमेयरले स्थागन गर्ने निर्णय गरेपछि विवाद बढेको थियो । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरसभा स्थगित गरेको विरोधमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीसँग ठेलाठेल भएको थियो ।
ठेलाठेलका क्रममा एमालेबाट निर्वाचित वडाध्यक्ष क्षेत्रीलाई डिएसपी केसीले पोखरीमा धकेलिदिएका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।