विवादका कारण अनिश्चित बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको १२औँ नगरसभाको पाँचौ बैठक शुरू भएको छ । नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वरी चौधरीबीच सोमवार साँझ भएको छलफलमा नगरसभा अगाडि बढाउने सहमति भएको थियो ।
प्रमुख र उप प्रमुखबीच नगरसभा अगाडि बढाउन सहमति भएपछि मंगलवार नगरसभा शुरू हुन लागेको तिलोत्तमा नगरपालिकाले जनाएको छ । ‘उहाँहरूका बीचमा के–कस्तो विषयमा सहमति भयो थाहा भएन,’ एक अधिकृतले भने, ‘तर अब नगरसभा अगाडि बढाउने सहमति भएकाले हामी तयारीमा जुटिरहेका छौँ ।’
प्रमुख र उपप्रमुखबीच नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूमा रहेको असमझदारी हटाउने, न्यायिक समितिमा कांग्रेसको तर्फबाट एक जना प्रतिनिधि राख्ने र नगरसभाको कार्यसूचीमा विषयगत समितिहरु गठन गर्ने विषय समावेश गर्ने सहमति भएको बताइएको छ ।
तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका खाण निर्वाचित भएका थिए । उनी गृहमन्त्री बालकृष्ण खाणका भाइ हुन् । तर, नगरसभामा उपप्रमुखसहित एमालेको बहुमत छ ।
एमालेले नगरप्रमुखले एकलौटी निर्णय गर्न खोजेको आरोप लगाउँदै आएको छ भने कांग्रेसले एमालेले बहुमतको दम्भ देखाइरहेको आरोप लगाउँदै आएको छ । दुई दलबीचको असमझदारीका कारण नगरसभा पटक–पटक प्रभावित हुँदै आएको छ ।