संसारका धेरै भागमा यो वर्ष भयंकर गर्मीको प्रकोप छ ।
बेलायत जस्तो चिसो ठाउँमा पनि अहिले चलिरहेको गर्मी असह्य बनिसकेको बताइएको छ । त्यहाँ अहिले सहारा मरुभूमिको भन्दा बढी गर्मी छ । मानिसहरूलाई घरैमा बसेर काम गर्न भनिएको छ । देशमा मौसम पहिलोपटक ४० डिग्री सेल्सियस पार हुने मौसम विभागको अनुमान छ ।
युरोपका कतिपय ठाउँमा अत्यधिक गर्मीका कारण डढेलो लागेको छ । फ्रान्स, स्पेन र पोर्चुगल सहित १० देशमा जंगलहरू डढिरहेका छन् ।
मौसम अधिकारीहरूले यस वर्ष गर्मीका सबै कीर्तिमान तोडिने अनुमान गरेका छन् । गर्मीका कारण मानिसहरू बिरामी पर्ने र मर्नेसम्मको आशंका गरिएको छ ।
यस विषयमा संयुक्त राष्ट्रसंघले पनि चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले डढेलो तथा लूका कारण विश्वको आधा जनसंख्या सामूहिक आत्महत्याको स्थितिमा पुगेको बताएका छन् ।
जलवायु संकटका विषयमा ४० देशहरूको बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै गुटेरेसले बताए, ‘बाढी, सुक्खा, तुफान र डढेलोका कारण आधा मानवता जोखिममा छ । कुनै पनि देशले यसको व्यवस्थापन गर्न सकेको छैन । तैपनि हामी जीवाश्म इन्धन (फसिल फ्युल) को लत छोड्न सकिरहेका छैनौं ।’