११ असार २०८३, बिहीबार

पश्चिमविरोधी खेमा बनाउनका लागि इरान पुगे पुटिन

साउन ३, २०७९
पश्चिमविरोधी खेमा बनाउनका लागि इरान पुगे पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पश्चिमविरोधी खेमा निर्माणका लागि मंगलवार इरान पुगेका छन् । 

त्यहाँ उनले राष्ट्रपति इब्राहिम रईसी र सर्वोच्च नेताआयातोल्लाह खमेनीसँग वार्ता गर्नेछन् । दुई देशबीचको सम्बन्ध बलियो बनाउने उद्देश्यका साथ वार्ता गरिन लागेको हो । 

युक्रेनविरुद्ध पाँच महिनाअघि युद्ध शुरू गरेयता पुटिन दोस्रोपटक मात्र विदेश भ्रमणमा गएका हुन् । 

इरानले रुसलाई युक्रेन युद्धमा प्रयोग गर्नका लागि ड्रोन दिन लागेको भनी अमेरिकाले गत साता चेतावनी दिएको थियो । 

इरानलाई रुसले ड्रोनको पुरस्कारका रूपमा नखुलाइएको सैन्य सहायता उपलब्ध गराउने संकेत छ । 

रुसी पत्रकार येभ्गेनी पोपोभले रुस र इरान मिलेर असलको धुरी बनाउने बताएका छन् । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले इरान, इराक र उत्तर कोरियालाई खराबको धुरी भनी चित्रित गरेकोमा त्यसलाई व्यंग्य गर्न पोपोभले असलको धुरी भनेका हुन् । 

इरानले आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएर आणविक हतियार बनाउन सक्षमता हासिल गरिसकेको बताएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आणविक सम्झौता त्यागेर इरानमाथि कठोर प्रतिबन्ध लगाएपछि इरानले आणविक हतियार निर्माणमा अग्रता हासिल गरेको हो । रुसले पनि पश्चिमलाई तर्साउनका लागि आणविक हतियारको प्रदर्शन गर्ने गरेको छ । 

पश्चिम र क्षेत्रीय प्रतिद्वन्द्वीहरूका कारण चेपुवामा परेको इरानले युरेनियम संवर्धनलाई बढाएको छ । 

इरानमाथि पश्चिमले लगाएको प्रतिबन्ध हट्ने कुनै लक्षण नदेखिएपछि इरानले रुससँग घनीभूत सम्बन्ध बनाइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्