०९ साउन २०८३, शनिबार

सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवनमा के–के छन् सुविधा ?

सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवनमा के–के छन् सुविधा ?

सिंहदरबार परिसरमा संसद् भवन निर्माण कार्य जारी छ । २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनपछि संसद् भवन बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सारिएको थियो । सांसदहरू संख्या बढेकाले त्यसअघि सिंहदरबारभित्रै रहेको संसद् भवन सारिएको थियो । 

तर, सरकारले संसद् भवन सिंहदरबारभित्रै फर्काउने गरिरहेको छ । त्यसका लागि सिंहदरबार परिसरमा संसद् भवन निर्माण कार्य जारी छ । आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठले निर्माणाधीन संसद् भवन अत्याधुनिक र सुविधासम्पन्न हुने बताए । उनले भवनमा दलका कार्यालयहरू, संसद सचिवालय, विकास समिति, संग्रहालय, पुस्तकालय, प्रतिनिधिसभा र राष्ट्रियसभा भवन, भिभिआइपी भवन, आरामदायी लबी, वातानुकुलित कक्ष रहने बताए ।

करिब ३५० वटा चारपांग्रे गाडी अट्ने अण्डरग्राउण्ड पार्किङ र त्यति नै संख्यामा भवनबाहिर पार्किङको व्यवस्था, फोहरासहितको आकर्षक बगैँचा, आधुनिक सुरक्षा व्यवस्था, आगलागी नियन्त्रण, भूकम्प प्रतिरोधी, सिभेज ट्रिटमेन्ट प्लान्ट, १२ लाख लिटर क्षमताको अण्डरग्राउण्ड पानी ट्याङ्कीलगायतका थुप्रै सुविधा रहेको उनले बताएका छन् । 

२०७६ साल असोजबाट शुरू गरिएको भवन निर्माणको कुल लागत खर्च ५ अर्ब २ करोड रहेको छ । ३ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि कोरोना महामारीका कारण ६ महिना थप गरिएको हुँदा ०७९ चैत्रसम्म सकिनुपर्ने समयसीमा रहेको छ । आयोजना शुरू भएको ३ वर्ष पुग्नै लाग्दा हालसम्म जम्मा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको टुन्डी शेक कम्पनीले बताएको छ । 

शहरी विकास मन्त्री मेटमणि चौधरीले मंगलबार निर्माणाधीन संघीय संसद भवनको निरीक्षण गरेका छन् । उनले निर्माण कार्यमा ढिलाई नगर्न निर्देशनसमेत दिएका छन् ।  

मन्त्रालयका सचिव डा. रमेश सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगाल, उपमहानिर्देशक दिलिप भण्डारी, चक्रवर्ती कण्ड र सचिवालयको टिमसहित भवन निर्माण स्थल पुगेका मन्त्रीले यति लामो अवधिसम्म पनि जम्मा ४५ प्रतिशत मात्र काम भएकोमा असन्तुष्टि व्यक्त गर्दै भने समयसीमाभित्रै तदारुकताका साथ काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्