२६ जेठ २०८३, मंगलबार

सभामुखसँग चेम्बरको मागः गाँजाको खेती गर्ने वातावरण बनाइदिनुहोस्

सभामुखसँग चेम्बरको मागः गाँजाको खेती गर्ने वातावरण बनाइदिनुहोस्

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरू पारित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ । मंगलवार बिहान सभामुखको कार्यकक्षमा भेट गर्दै चेम्बरका प्रतिनिधिले संसद्मा विचाराधीन अर्थसँग सम्बन्धित विधेयक पारित गर्न माग गरेका हुन् । संसद्मा अर्थसँग सम्वन्धित विभिन्न ११ वटा विधेयक विचाराधीन रहेको छ । 

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले विधेयकहरू रोकिँदा नीजि क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुन नसकेको सभामुख सापकोटासँग गुनासो गरेका थिए । 

भेटमा अध्यक्ष मल्लले व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन सभामुखलाई आग्रह गरे । गाँजाको व्यवस्थित उत्पादन तथा निर्यात प्रवर्द्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । 

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानाकर्षण गराए । संघीय निर्वाचनअघि अर्थतन्त्रसँग जोडिएका सबै विधेयकहरू पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लको भनाइ छ । 

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरूलाई अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । सभामुख सापकोटाले भने, ‘केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु । बजेटसँग सम्बन्धित विधेयकहरू करिब–करिब सकिएको छ । अरू विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’

सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरू संसदीय समितिमा झण्डै चार वर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्