२३ जेठ २०८३, शनिबार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

लोकान्तर राउण्ड अपमा पाठकवृन्दलाई स्वागत छ । सधैँ झैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ​-
००००
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ दल दर्ताको तयारीमा रहेका डा बाबुराम भट्टराईबीच करीब एक घण्टा छलफल गरेका छन् । मंगलबार सिंहरदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो । 
भेटमा डा भट्टराईले दल विभाजनसम्बन्धी ऐन सक्रिय बनाएर नयाँ दल दर्ता गर्ने वातावरण बनाइदिन पनि प्रचण्डलाई आग्रह गरेको बताइएको छ । भट्टराईले यही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि पटक–पटक छलफल गरिसकेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) बाट बाहिरिएर नयाँ दल बनाउने क्रममा रहेका भट्टराई सत्ता गठबन्धनभन्दा बाहिर नरहेको प्रचण्डले बताएका छन् । दुई नेताको छलफलपछि सिंहदरबारमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको बताए ।
००००
यसैगरी  ‘प्रचण्ड’ले विचार मिल्ने पार्टीसँग एकीकरण गर्नेबारे छलफल भएको बताएका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत सचिवालय सदस्यको छलफलमा विचार मिल्ने पार्टीहरूबीच एकताका लागि छलफल भएको उनले बताएका हुन् ।
००००
काठमाडौंको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ । 
काठमाडौं जिल्ला अदालतबाट गत पुस २७ गते पक्राउ पुर्जी जारी भई फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौंस्थित रामशाहपथबाट पक्राउ गरेको हो ।
००००
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष एवं पूर्व सञ्चारकर्मी रवीन्द्र मिश्रको पुस्तक ुविचारभन्दा माथि देशु प्रकाशन हुने भएको छ । संघीयता खारेजी, राजसंस्था र हिन्दू–बौद्ध राष्ट्रको मागसहितको पुस्तक प्रकाशनमा आउन लागेको मिश्र स्वयंले फेसबूकमार्फत जानकारी गराएका छन् ।
००००
निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट शुरू गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप ५ जिल्लामा विस्तार गरेको छ ।
आयोगले नमूनाका रूपमा शुरू गरेको कार्य मंगलवारदेखि काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप ५ जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाको मंगलवार बसेको बैठक बहिष्कार गरेपछि बैठक स्थगित भएको छ । प्रदेश सभाको दशौं अधिवेशनको २६औं बैठकको शुरूमै उठेर नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई पूर्णतया बेवास्ता गरिएको आरोप लगाए ।
‘विगतमा पनि गठबन्धन सरकार थियो । सरकारको शैली, प्रक्रिया र गठबन्धनको निर्णयमा संयोजन हुन्थ्यो । त्यो अहिले गर्न किन भुल्नु भएको हो मुख्यमन्त्रीज्यू ?’ भन्दै उनले बैठकमा प्रश्न गरे ।  
००००
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कार्यसमितिले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको छ ।
जिल्ला भेला आयोजक समिति संयोजक यानप्रसाद भट्टले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी पुनर्गठन गर्ने निर्णय भएको जानकारी दिए ।
००००
बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च अदालतमा तानिएका छन् । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको निर्णयबाट न्यायाधीश अधिकारीलाई मंगलवार सर्वोच्चमा काज सरुवा गरिएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
न्यायाधीश अधिकारीबारे न्याय परिषद्मा छानबिन भइरहेको जनाइएको छ । न्याय परिषद्ले अन्य न्यायाधीशबारे पनि छानबिन र कारवाही गरिरहेको छ ।
००००
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अभियोग लागेका अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सार्वजनिक सूचनामार्फत स्पष्टीकरण सोधिएको छ । नेपाल कानून व्यवसायी परिषद्ले मंगलवार सार्वजनिक सूचनामार्फत अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोधेको हो । 
उनलाई स्पष्टीकरण सोध्न परिषद्ले गोरखापत्रको मंगलवारको अंकमा सूचना प्रकाशन गरेको छ। पोखरेलले स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएकाले परिषद्ले सार्वजनिक सूचना प्रकाशित गरेको जनाएको छ । उनलाई सूचना जारी भएको मितिले ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।
००००
नेकपा एकीकृत समाजवादीले वाम एकताको लागि पहल गर्ने निर्णय गरेको छ । मंगलवार तीनकुनेस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वाम एकताका लागि पहल गर्ने निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।
००००
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि जहाज किन्दा लिएको ऋणको किस्ता ३९ महिनापछि तिरेको छ । निगमले असार मसान्तमा कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई १३औँ किस्तावापत ३९ महिनाको पैसा तिर्नुपर्ने छ । यही ऋणवापत निगमले दुवै निकायलाई करीब सवा अर्ब रुपैयाँ मात्रै तिरेको हो ।
००००
सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारी नेकपा एमालेको वित्त तथा योजना आयोगको सदस्यको भएको दाबी गर्दै विद्यार्थीहरूले आन्दोलनको घोषणा गरेका हुन् । राजनीतिक दलको सदस्य राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहन नमिल्ने कानूनी व्यवस्था रहेको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियूले विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
००००
नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिबीचको विवादका कारण रोकिएको तिलोत्तमा नगरपालिकाको बजेट पारित भएको छ । गएको असार १० गते नगरसभामा प्रस्तुत बजेट मंगलवार सर्वसम्मतिले पारित भएको हो ।
००००
कोरोना भाइरसको संक्रमण पछिल्लो समय बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार ३ हजार ३२८ जनाको नमूना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका चार केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । राप्रपाका केन्द्रीय नेताहरू दिलनाथ गिरी, श्याम तिमिल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलवार पार्टी परित्याग गरेका हुन् । 

उनीहरूले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका जनाएका छन् ।
००००
शेयर बजार मापक सूचक नेप्से १६.२० अंकले बढेको छ । मंगलवार शेयर बजार ०.८० अंकले बढेर २ हजार ४५.६३ विन्दुमा पुगेको छ । बजार बढेसँगै कारोवार रकम पनि २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । 
बजार बढेसँगै इमर्जिङ नेपालको शेयर मूल्य सबैभन्दा बढीले बढेको छ । यो कम्पनीको शेयर मूल्य ८.०१ प्रतिशतले बढेको छ ।
००००
वाणिज्य बैंकहरूले गत आवको अन्तिम महिना असारमा मात्रै १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । वर्षभरिमा जम्मा ३ खर्ब ४० अर्ब रुपैयाँको निक्षेप संकलन गरेका छन् । बैंकहरूले आवको अन्तिम महिना असारमा मात्रै कुल निक्षेपको ४१ प्रतिशत रकम संकलन गरेका छन् ।
००००
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले इम्बोस्ड नम्बर प्लेटबारे एक–दुई दिनभित्रै सुखद् समाचार सुन्न पाइने बताएका छन् । मंगलवार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले इम्बोस्ड नम्बर प्लेटबारे नयाँ निर्णय गर्न लागिएको खुलासा गरेका हुन् ।
इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा लेखिनुपर्ने माग उठिरहेका बेला मन्त्री राईले इम्बोस्ड नम्बर नेपाली भाषामा लेख्न दिइने संकेत गरेका हुन् । ‘इम्बोस्ट नम्बर प्लेटको एक दुई दिनमा नै सुखद् समाचार सुन्न पाउनु हुनेछ,’ उनले भने, ‘त्यसको औचित्यतामा नेपालीहरूले गौरव गर्नसक्ने केही कुराहरु रिपोर्ट आएपछि कार्यान्वयन गर्ने कुरा जानकारी गराउँछौँ ।’
००००
काठमाडौं महानगरपालिकामा थप तीनवटा वारुणयन्त्र आइपुगेको छ । आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले उच्च प्रविधिजडित दमकल खरिद गरेको हो । महानगरपालिकाको अघिल्लो नेतृत्वले दमकल खरिदको निर्णय गरेको थियो । महानगरमा आइपुगेको उक्त दमकल मेयर बालेन्द्र साहले बुझेका छन् । मेयर साहले दमकल खरिदको निर्णय गर्ने पूर्व मेयर विद्यासुन्दर शाक्यलाई धन्यवाद दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्