
नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी खोटाङको वास्तविकताबारे संसदमा जवाफ माग गरिएको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा माओवादी सांसद सुरेश आले मगरले एम अधिकारीको विषय रहस्यमयी भएको भन्दै एमालेसँग जानकारी माग गरेका हुन् ।
‘एम अधिकारी खोटाङ को हो भन्ने विषय रहस्यमयी भएको छ । एम अधिकारी एमालेको सदस्य हुन पनि पाउँछन्, योग्यताका आधारमा गभर्नर बन्न पनि पाउँछन्’ सांसद आलेले भने, ‘एउटै व्यक्ति दुईतिर हुन पाउँदैन । यो व्यक्ति को हो भन्ने नेपाली जनता जान्न चाहन्छन् ।’
सांसद आलेले एम अधिकारीको वास्तविकता खुलाइदिन एमालेसँग आग्रह गरे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी रहेको भन्दै प्रतिनिधि सभामा पनि माओवादी सांसद गजेन्द्र महतले उनको सोधी खोज गर्न माग गरेका थिए ।