
श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले साउदी अरेबिया र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूतसँग वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको सुरक्षाका विषयमा चासो व्यक्त गरेका छन्।
मन्त्री कुँवरले आज साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई मन्त्रालयमा बोलाएर वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका समस्याका बारेमा छलफल गरेका हुन् ।
उनले नेपाली श्रमिकको कामको सुनिश्चितता र सुरक्षाका विषयमा विशेष ध्यान दिन निर्देशन दिए । मन्त्रालयका सचिव एकनारायण अर्यालले विदेशी भूमिमा कोमामा रहेका र अङ्गभङ्ग भएर उपचार गराइरहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको र दूतावासले सरकारको भावनाअनुसार भूमिका खेल्नुपर्ने बताए । अहिले साउदीमा मात्रै २५ जना नेपाली श्रमिक कोमामा छन् ।
सो अवसरमा राजदूत सुवेदीले साउदी सरकार र नेपालबीच श्रम सम्झौताका लागि पहल गर्ने बताए । अवैधानिकरूपमा कामदार जाँदा विभिन्न जटिलता निम्तिने भएकाले द्विपक्षीय श्रम सम्झौता भएमा त्यस्ता समस्या न्यूनीकरण हुने उनले बताए ।