
गैरकानूनी रूपमा आर्जन गरेको धन आफैंसँग राख्दा छानबिनमा परिने डरले नजिकका आसेपासे कार्यकर्ताको जिम्मा राख्ने गरेको फेला परेको छ ।
भारतको पश्चिम बंगालमा शिक्षा भर्ती घोटालामा शिक्षामन्त्री पार्थ चटर्जीसम्म पुगेको छ । उनका नजिकका कार्यकर्ता अर्पिता मुखर्जीको घरमा ईडीले छापा हानेर ३० करोड रुपैयाँ नगद बरामद गरेको छ ।
घोटालाबाट मन्त्रीको पार्टी टीएमसीले भने आफूलाई अलग गरेको छ । घोटालाको अनुसन्धानलाई नजिकबाट हेरिरहेको र समय आएपछि प्रतिक्रिया दिने टीएमसीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पश्चिम बंगालको बीजेपीले भने घोटालाई ठूलो मुद्दा बनाएको छ । बीजेपी नेता शुभेन्द्र अधिकारीले ट्वीट गरेर भनेका छन्, ‘अर्पिता मुखर्जीको घरमा ३० करोड भेटिएका छन्, उनी पश्चिम बंगालका शिक्षामन्त्री पार्थ चटर्जीका नजिकका व्यक्ति हुन् ।’
अर्पिताको घरमा करोडौं नगद भेटिएपछि पश्चिम बंगालको राजनीतिमा तरङ्ग पैदा भएको छ ।