
स्याङ्जाको विर्घा ओइघाको सामान्य किसान परिवारमा जन्मिएका हुन् यज्ञश्वर थैव । थैवको अहिलेको पहिचान रूपन्देहीमा सफल उद्योगीको हो ।
कामप्रतिको अथक मेहनत, लगाव र सिर्जनशील क्षमताकै कारण औद्योगिक ‘हब’ रूपन्देहीमा थैवका १५ उद्योग सञ्चालित छन् ।
औपचारिक शिक्षामा सामान्य साक्षर मात्रै यज्ञश्वरमा स्थापित इन्जिनीयरहरूभन्दा अब्बल इन्जिनीयरिङ कला छ । ‘पढेकाले भन्दा पनि परेकाले जानेको हुन्छ’ भन्ने उखानलाई उनको कर्मले पुष्टि गरेको छ । त्यसैले उनको ‘मास्टर माइन्ड’ गज्जबको छ । आवास ग्रूप अन्तर्गत सञ्चालित उद्योगले जिल्लामा छुट्टै पहिचान बनाएको छ ।
गाउँमा जन्मिएका थैव परिवारको खेती किसानीसँगै गाउँमै कपडाको व्यापार थियो । विक्रम संवत् २०३६ सालतिर गाउँ छाड्नुपर्ने परिस्थिति आइपर्यो । त्यसपछि थैव परिवारको गल्याङमा कपडाकै व्यापार शुरू भयो । यो नै थैव परिवारको ‘टर्निङ प्वाइन्ट’ हो । त्यहाँ उनीहरूले १४ वर्ष व्यापार गरे ।
समयको क्रमसँगै यज्ञश्वरका दाजुभाइले बुटवल भैरहवा झरेर व्यापार व्यवसाय शुरू गरिसकेका थिए । त्यसपछि बुवा ऋषेश्वर थैवलाई व्यापारमा सघाउनुपर्ने जिम्मेवारी यज्ञश्वरको काँधमा आयो । उनी पनि विक्रम संवत् २०५० सालमा बुटवल झरे, घ्यूसँग नून साट्ने शहरको रूपमा तत्कालीन बटौलीको परिचय छ ।
विद्यालय स्तरको अध्ययन गर्दागर्दै यज्ञश्वर पढाइ छाडेर बुवालाई व्यापारमा सघाउन थाले, सँगसँगै भाँडा तथा हार्डवेयरको व्यापार पनि । यज्ञश्वरलाई चित्रकला (आर्टस्) मा विशेष रूचि थियो । व्यापार व्यवसायसँगै खाली समयमा उनले चित्र लेख्ने काम गर्थे । उनले हालसम्म ३ हजारभन्दा बढी चित्र कोरेका छन् । अहिले पनि फुर्सदको समयमा चित्र कोर्ने गर्छन् ।
गल्याङमा व्यापार राम्रै थियो तर ठाउँ अलि सानो । ‘अलि ठूलो ठाउँमा व्यापार व्यवसाय गर्ने सोच आयो,’ उनले भने, ‘बुटवल झरेर त्यही व्यापारलाई नै अगाडि बढाउने बुवा (ऋषेश्वर) र आमा (लालकुमारी) सँग सल्लाह भयो ।’ २०५४ सालतिर बुटवल झरेका थैव परिवारको अमरपथमा कपडाको व्यापार शुरू भयो भने यज्ञश्वरले गल्याङमा गर्दै आएको भाँडाको व्यापार छाडेर हार्डवेयरमा हात हाले । त्यसअघि नै यज्ञश्वरका दाइ भुवन र भाइहरू राजेश, विश्वेश्वर, महेश बुटवल झरिसकेका थिए । जेठो दाजु भुवनको भैरहवामा कोल्ड ड्रिंक्सको डिस्ट्रिब्यूटर्स र भाइ विश्वेश्वरको भैरहवामा फेन्सी रेडिमेटको पसल थियो । लगत्तै भाइले जुत्ता उद्योग शुरू गरे ।
घुम्ने सिलसिलामा भाइसँग भारत जाँदा यज्ञश्वरलाई उद्योगमा हात हाल्ने प्रेरणा मिल्यो । यता भाइको जुत्ता उद्योग राम्रोसँग फस्टाउन सकिरहेको थिएन । चाइनिज जुत्तासँग नेपाली जुत्ता उद्योगले प्रतिस्पर्धा गर्न गाह्रो थियो ।
भारतमा घुम्न जाँदा ग्रील गेट र आल्मुनियमका झ्याल–ढोकाले उनको मन खिच्यो । भारतबाट फर्किएपछि भाइसँग मिलेर ग्रील गेट र आल्मुनियमको झ्याल–ढोकाको उद्योग शुरू गरे । सँगसँगै जुत्ता उद्योग बन्द पनि भयो । ग्रील गेट र आल्मुनियमको झ्याल–ढोका उद्योग भाइ विश्वेश्वरको जिम्मामा थियो । व्यावसायिक सिलसिलामा वीरगञ्ज गएर फर्किने क्रममा सवारी दुर्घटनामा परी भाइको निधन भयो ।
त्यतिबेलासम्म उनले हार्डवेयरको व्यापार नै गरिरहेका थिए । भाइको निधनपछि उनले पूर्णतः उद्योगमा संलग्न भएर काम शुरू गरे ।
त्यसयता हालसम्म उनका आवास ग्रूप अन्तर्गत १५ उद्योग सञ्चालनमा आइसकेका छन् । आवास आल्मुनियम, लक्ष्मी स्टील, ‘सन फिटिङ इन्डिस्टिज’सम्म आवास ग्रूपका उद्योग हुन् । अब गार्मेन्ट, स्पोर्टस् सुज उद्योग सञ्चालनको अन्तिम तयारीमा थैव छन् ।
उद्योग सञ्चालन गर्ने क्रममा उनले बजारको अध्ययनभन्दा पनि नेपालमा अति आवश्यक पर्ने र अरुले उत्पादन नगरेका वस्तुलाई प्राथमिकता दिने गरेको बताए । उनले सञ्चालन गरेका उद्योगमा उत्पादन हुने करीब ५० प्रतिशत वस्तु नेपालमा अरु कसैले पनि उत्पादन गरेका छैनन् । गुणस्तरमा पनि उत्तिकै राम्रो मानिन्छ ।
अझै अचम्मको कुरा यति उद्योग लगाउँदा बाहिरबाट इन्जिनीयर समेत ल्याएका छैनन् । इन्जिनीयरिङको पाटो पनि आफैंले सम्हालेका छन् । ‘यतिका उद्योग गरें, मैले अहिलेसम्म इन्जिनीयर ल्याएको छैन, सबै आफैंले गर्ने गरेको छु,’ उनले भने, ‘सबै मेरो आफ्नै क्रियटिभिटी हो ।’
यी उद्योगको प्रशासनिक, आर्थिक कारोबार र अन्य निकायसँग संवाद र समन्वयको जिम्मेवारीमा भाइ महेश छन् । ‘प्राविधिक कुराको पूर्ण रूपमा मैले जिम्मेवारी लिएको छु, भाइ महेशले अफिसियल जिम्मेवारी निर्वाह गरेका छन् । अरु दाइ–भाइ पनि आ–आफ्नो जिम्मेवारीमा छन्,’ उनले भने । उद्योग छोराहरू (तेस्रो) पुस्ता) ले सम्हाल्न थालेपछि अहिले काममा पनि धेरै सहज भएको उनले बताए ।
परिवारमा दाजुभाइको एकता र कामप्रतिको लगनशीलताले नै उनलाई सफल उद्यमी बनाएको हो । एकपटक देखेको कुरा तत्कालै टिप्न सक्ने क्षमता उनमा छ । कतिसम्म भने बाहिरबाट ल्याएको मशिन जडान गर्न आएका मिस्त्रीले गर्न नसकेको काम उनले कुशलतापूर्वक गरेका छन् ।
उनले भने, ‘काम गर्ने व्यक्तिमा मेहनत, लगनशीलता, इमान्दारिता र सीप हुनु आवश्यक छ ।’ तर नेपालमा उद्योग गर्ने वातावरण नभएको उनले बताए । हुन त सरकारले लगानी आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याउने गर्दछ तर ती कार्यक्रमले उद्योगीलाई छुन सकेका छैनन् ।
रुपन्देहीको कोटिहवामा रहेको लक्ष्मी स्टील, प्लास्टिक उद्योगमा विद्युत् पुर्याउनका लागि ५ किलोमिटरमा तारपोलको लागि आफैंले लगानी गर्नुपरेको उनले सम्झिए, त्यसबाहेक पनि नमिठा उदाहरणहरू उनीसँग थुप्रै छन् ।
नेपालको औद्योगिक विकासका लागि प्रतिस्पर्धी उत्पादन अपरिहार्य छ तर त्यसका लागि सरकारले लिने कतिपय नीति नियमहरू बाधक छन् । जस्तैः कृषिमा प्रयोग हुने तयारी बेल्चाको आयातभन्दा कच्चा पदार्थको आयातमा भन्सार शुल्क महंगो रहेको उनले बताए । उनी भन्छन्, ‘सरकारले हातखुट्टा बाँधेर प्रतिस्पर्धामा खटाएको छ ।’ सरकारको नीतिले प्रतिस्पर्धी उत्पादन हुन नसक्ने उनको निचोड छ ।
उनले हाल करीब १ हजार २०० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । थप ४ उद्योग सञ्चालनमा आउँदा थप ६०० बढी रोजगारी सिर्जना हुने उनले बताए । उनले अरुले नगरेको काममा बढी ध्यान दिएर उद्योगमा आउन चाहने नवउद्यमीलाई आग्रह गरेका छन् ।
‘कामप्रतिको लगाव पनि उत्तिकै आवश्यक छ,’ उनले भने । हाल रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राम, कोटिहवाको गंगोलिया, देवदह नगरपालिकाको भलही र बुटवल औद्योगिक क्षेत्रमा उनका उद्योग छन् । थैव परिवार सामाजिक कार्यमा पनि सक्रिय हुन रुचाउँछ । देशको औद्योगक विकासमा टेवा पुर्याउने गरी अगाडि बढेका छन् उनी ।