०४ साउन २०८३, सोमबार
सफलता

व्यवसायमा ‘मास्टर माइन्ड’ थैव यसरी बने सफल

साउन ७, २०७९
व्यवसायमा ‘मास्टर माइन्ड’ थैव यसरी बने सफल

स्याङ्जाको विर्घा ओइघाको सामान्य किसान परिवारमा जन्मिएका हुन् यज्ञश्वर थैव । थैवको अहिलेको पहिचान रूपन्देहीमा सफल उद्योगीको हो ।

कामप्रतिको अथक मेहनत, लगाव र सिर्जनशील क्षमताकै कारण औद्योगिक ‘हब’ रूपन्देहीमा थैवका १५ उद्योग सञ्चालित छन् ।

औपचारिक शिक्षामा सामान्य साक्षर मात्रै यज्ञश्वरमा स्थापित इन्जिनीयरहरूभन्दा अब्बल इन्जिनीयरिङ कला छ । ‘पढेकाले भन्दा पनि परेकाले जानेको हुन्छ’ भन्ने उखानलाई उनको कर्मले पुष्टि गरेको छ । त्यसैले उनको ‘मास्टर माइन्ड’ गज्जबको छ । आवास ग्रूप अन्तर्गत सञ्चालित उद्योगले जिल्लामा छुट्टै पहिचान बनाएको छ ।

गाउँमा जन्मिएका थैव परिवारको खेती किसानीसँगै गाउँमै कपडाको व्यापार थियो । विक्रम संवत् २०३६ सालतिर गाउँ छाड्नुपर्ने परिस्थिति आइपर्‍यो । त्यसपछि थैव परिवारको गल्याङमा कपडाकै व्यापार शुरू भयो । यो नै थैव परिवारको ‘टर्निङ प्वाइन्ट’ हो । त्यहाँ उनीहरूले १४ वर्ष व्यापार गरे । 

समयको क्रमसँगै यज्ञश्वरका दाजुभाइले बुटवल भैरहवा झरेर व्यापार व्यवसाय शुरू गरिसकेका थिए । त्यसपछि बुवा ऋषेश्वर थैवलाई व्यापारमा सघाउनुपर्ने जिम्मेवारी यज्ञश्वरको काँधमा आयो । उनी पनि विक्रम संवत् २०५० सालमा बुटवल झरे, घ्यूसँग नून साट्ने शहरको रूपमा तत्कालीन बटौलीको परिचय छ । 

विद्यालय स्तरको अध्ययन गर्दागर्दै यज्ञश्वर पढाइ छाडेर बुवालाई व्यापारमा सघाउन थाले, सँगसँगै भाँडा तथा हार्डवेयरको व्यापार पनि । यज्ञश्वरलाई चित्रकला (आर्टस्) मा विशेष रूचि थियो । व्यापार व्यवसायसँगै खाली समयमा उनले चित्र लेख्ने काम गर्थे । उनले हालसम्म ३ हजारभन्दा बढी चित्र कोरेका छन् । अहिले पनि फुर्सदको समयमा चित्र कोर्ने गर्छन् ।

गल्याङमा व्यापार राम्रै थियो तर ठाउँ अलि सानो । ‘अलि ठूलो ठाउँमा व्यापार व्यवसाय गर्ने सोच आयो,’ उनले भने, ‘बुटवल झरेर त्यही व्यापारलाई नै अगाडि बढाउने बुवा (ऋषेश्वर) र आमा (लालकुमारी) सँग सल्लाह भयो ।’ २०५४ सालतिर बुटवल झरेका थैव परिवारको अमरपथमा कपडाको व्यापार शुरू भयो भने यज्ञश्वरले गल्याङमा गर्दै आएको भाँडाको व्यापार छाडेर हार्डवेयरमा हात हाले । त्यसअघि नै यज्ञश्वरका दाइ भुवन र भाइहरू राजेश, विश्वेश्वर, महेश बुटवल झरिसकेका थिए । जेठो दाजु भुवनको भैरहवामा कोल्ड ड्रिंक्सको डिस्ट्रिब्यूटर्स र भाइ विश्वेश्वरको भैरहवामा फेन्सी रेडिमेटको पसल थियो । लगत्तै भाइले जुत्ता उद्योग शुरू गरे । 

घुम्ने सिलसिलामा भाइसँग भारत जाँदा यज्ञश्वरलाई उद्योगमा हात हाल्ने प्रेरणा मिल्यो । यता भाइको जुत्ता उद्योग राम्रोसँग फस्टाउन सकिरहेको थिएन । चाइनिज जुत्तासँग नेपाली जुत्ता उद्योगले प्रतिस्पर्धा गर्न गाह्रो थियो । 

भारतमा घुम्न जाँदा ग्रील गेट र आल्मुनियमका झ्याल–ढोकाले उनको मन खिच्यो । भारतबाट फर्किएपछि भाइसँग मिलेर ग्रील गेट र आल्मुनियमको झ्याल–ढोकाको उद्योग शुरू गरे । सँगसँगै जुत्ता उद्योग बन्द पनि भयो । ग्रील गेट र आल्मुनियमको झ्याल–ढोका उद्योग भाइ विश्वेश्वरको जिम्मामा थियो । व्यावसायिक सिलसिलामा वीरगञ्ज गएर फर्किने क्रममा सवारी दुर्घटनामा परी भाइको निधन भयो ।

त्यतिबेलासम्म उनले हार्डवेयरको व्यापार नै गरिरहेका थिए । भाइको निधनपछि उनले पूर्णतः उद्योगमा संलग्न भएर काम शुरू गरे । 

त्यसयता हालसम्म उनका आवास ग्रूप अन्तर्गत १५ उद्योग सञ्चालनमा आइसकेका छन् । आवास आल्मुनियम, लक्ष्मी स्टील, ‘सन फिटिङ इन्डिस्टिज’सम्म आवास ग्रूपका उद्योग हुन् । अब गार्मेन्ट, स्पोर्टस् सुज उद्योग सञ्चालनको अन्तिम तयारीमा थैव छन् ।

उद्योग सञ्चालन गर्ने क्रममा उनले बजारको अध्ययनभन्दा पनि नेपालमा अति आवश्यक पर्ने र अरुले उत्पादन नगरेका वस्तुलाई प्राथमिकता दिने गरेको बताए । उनले सञ्चालन गरेका उद्योगमा उत्पादन हुने करीब ५० प्रतिशत वस्तु नेपालमा अरु कसैले पनि उत्पादन गरेका छैनन् । गुणस्तरमा पनि उत्तिकै राम्रो मानिन्छ ।

अझै अचम्मको कुरा यति उद्योग लगाउँदा बाहिरबाट इन्जिनीयर समेत ल्याएका छैनन् । इन्जिनीयरिङको पाटो पनि आफैंले सम्हालेका छन् । ‘यतिका उद्योग गरें, मैले अहिलेसम्म इन्जिनीयर ल्याएको छैन, सबै आफैंले गर्ने गरेको छु,’ उनले भने, ‘सबै मेरो आफ्नै क्रियटिभिटी हो ।’

यी उद्योगको प्रशासनिक, आर्थिक कारोबार र अन्य निकायसँग संवाद र समन्वयको जिम्मेवारीमा भाइ महेश छन् । ‘प्राविधिक कुराको पूर्ण रूपमा मैले जिम्मेवारी लिएको छु, भाइ महेशले अफिसियल जिम्मेवारी निर्वाह गरेका छन् । अरु दाइ–भाइ पनि आ–आफ्नो जिम्मेवारीमा छन्,’ उनले भने । उद्योग छोराहरू (तेस्रो) पुस्ता) ले सम्हाल्न थालेपछि अहिले काममा पनि धेरै सहज भएको उनले बताए ।

परिवारमा दाजुभाइको एकता र कामप्रतिको लगनशीलताले नै उनलाई सफल उद्यमी बनाएको हो । एकपटक देखेको कुरा तत्कालै टिप्न सक्ने क्षमता उनमा छ । कतिसम्म भने बाहिरबाट ल्याएको मशिन जडान गर्न आएका मिस्त्रीले गर्न नसकेको काम उनले कुशलतापूर्वक गरेका छन् ।

उनले भने, ‘काम गर्ने व्यक्तिमा मेहनत, लगनशीलता, इमान्दारिता र सीप हुनु आवश्यक छ ।’ तर नेपालमा उद्योग गर्ने वातावरण नभएको उनले बताए । हुन त सरकारले लगानी आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याउने गर्दछ तर ती कार्यक्रमले उद्योगीलाई छुन सकेका छैनन् ।

रुपन्देहीको कोटिहवामा रहेको लक्ष्मी स्टील, प्लास्टिक उद्योगमा विद्युत् पुर्‍याउनका लागि ५ किलोमिटरमा तारपोलको लागि आफैंले लगानी गर्नुपरेको उनले सम्झिए, त्यसबाहेक पनि नमिठा उदाहरणहरू उनीसँग थुप्रै छन् ।

नेपालको औद्योगिक विकासका लागि प्रतिस्पर्धी उत्पादन अपरिहार्य छ तर त्यसका लागि सरकारले लिने कतिपय नीति नियमहरू बाधक छन् । जस्तैः कृषिमा प्रयोग हुने तयारी बेल्चाको आयातभन्दा कच्चा पदार्थको आयातमा भन्सार शुल्क महंगो रहेको उनले बताए । उनी भन्छन्, ‘सरकारले हातखुट्टा बाँधेर प्रतिस्पर्धामा खटाएको छ ।’ सरकारको नीतिले प्रतिस्पर्धी उत्पादन हुन नसक्ने उनको निचोड छ । 

उनले हाल करीब १ हजार २०० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । थप ४ उद्योग सञ्चालनमा आउँदा थप ६०० बढी रोजगारी सिर्जना हुने उनले बताए । उनले अरुले नगरेको काममा बढी ध्यान दिएर उद्योगमा आउन चाहने नवउद्यमीलाई आग्रह गरेका छन् ।

‘कामप्रतिको लगाव पनि उत्तिकै आवश्यक छ,’ उनले भने । हाल रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राम, कोटिहवाको गंगोलिया, देवदह नगरपालिकाको भलही र बुटवल औद्योगिक क्षेत्रमा उनका उद्योग छन् । थैव परिवार सामाजिक कार्यमा पनि सक्रिय हुन रुचाउँछ । देशको औद्योगक विकासमा टेवा पुर्‍याउने गरी अगाडि बढेका छन् उनी । 

salt training

कमेन्ट गर्नुहोस्