०८ साउन २०८३, शुक्रबार

सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिनु देशका लागि घातकः ज्ञवाली

सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिनु देशका लागि घातकः ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी पारित विधेयक देशको हितमा नभएको बताएका छन् । नेपाली नागरिक सरह बिहे गरेर आउने वित्तिकै विदेशीलाई नागरिकता दिनु गलत हुने उनको भनाइ छ । वैवाहिक अंगीकृतलाई कुनै ‘सटेन’ अवधि नराखी तत्काल नागरिकता दिने गरी शुक्रवार संसदबाट रहस्यपूर्ण ढंगले विधेयक पारित भएको भन्दै यसले देशलाई ठूलो अप्ठ्यारोमा पार्ने उनले बताए । 

प्रेस चौतारी नेपाल, रूपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले भने, ‘रहस्यपूर्ण ढंगले विधेयक पारित गरिएको छ, विदेशी नागरिकलाई बिहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने पारित भएको विधेयक हाम्रो जस्तो देशका लागि घातक छ ।’ 

एमालेले विगतदेखि नै विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न चाहनेको लागि कुनै निश्चित समय राख्नुपर्छ भनेर भन्दै आएको उनको दाबी छ । ‘भारत, चीनलगायत सबै देशले ‘सटेन’ समय राखेका छन्,’ ज्ञवालीले भने, ‘हामीले बिहे गरेर आउने वित्तिकै नागरिकता दिने भयौँ । नागरिकता जस्तो संवेदनशील विषयमा विगतका सहमतिलाई पनि लत्याएर जुन रातारात विधेयक पारित गरियो यसले देशलाई अप्ठ्यारोमा पार्ने निश्चित छ ।’

पूर्वमन्त्री समेत रहेका नेता ज्ञवालीले आउँदो निर्वाचनमा आफूहरूको उद्देश्य र विचारसँग नजिक हुने राजनीतिक दलसँग तालमेल गरेर जान एमाले तयार रहेको बताए । ‘हामी स्थानीय तह निर्वाचनमा चौतर्फी घेराबन्दी हुँदा पनि सबैभन्दा धेरै ३४ प्रतिशत मतका साथ पहिलो भएका थियौँ’ ज्ञवालीले भने, ‘त्यही जगमा टेकेर निर्वाचनमा जाँदैछौँ । एमाले एक्लै चुनाव लडन तयार छ । तर, हामीसँग विचार मिल्नेहरूसँग तालमेल गरेर जान ढोका बन्द गरेका पनि छैनौँ ।’

तत्कालीन नेकपा नेताहरू भेला भएर वाम गठबन्धनको कुरा गर्नु कांग्रेससँग आउँदो निर्वाचनमा सिट बाँडफाँडको ‘बार्गेनिङ’का लागि मात्र भएको उनको दाबी छ । ‘गठबन्धनभित्र अर्को गठबन्धन गर्ने जुन कसरत भइरहेको देखिन्छ । त्यो अरु केही होइन । कांग्रेससँग बार्गेनिङ मात्र हो,’ ज्ञवालीले भने । 

परमादेशबाट बनेको वर्तमान सरकारले एक वर्षमा देशलाई ठूलो संकटतर्फ धकेलेको उनको भनाइ छ । संसदको अधिकारलाई चरम दुरुपयोग गर्दै संविधानको मूल मर्ममाथि सरकारले निरन्तर प्रहार गरिरहेको नेता ज्ञवालीले बताए ।  ‘अर्थतन्त्रका हरेक आयाम संकटमा छन् । व्यापार घाटा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मुलुकको सञ्चिति कोष घट्दो छ । पूँजीगत खर्च जम्मा ५७ प्रतिशत भएको छ,’ उनले भने, ‘यस्ता विभिन्न घटनाक्रमले सरकारबाट देशको चीरहरण भइरहेको प्रष्ट छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्