२९ जेठ २०८३, शुक्रबार

एमाले विभाजन गराउन विदेशी शक्ति लाग्योः ओली

एमाले विभाजन गराउन विदेशी शक्ति लाग्योः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिले एमालेलाई कमजोर बनाउन सत्तारूढ गठबन्धन बनाएको आरोप लगाएका छन् । 

शनिवार ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुरू भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गरेपछि मन्तव्य राख्दै नेपाली राजनीतिका देशी÷विदेशी शक्ति हावी भएको दाबी गरेका हुन् ।

नेपालमा मजदुर वर्गपक्षीय शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसकै लागि एमालेलाई विदेशी शक्ति समेत लागेर विभाजन गरेको उनको दाबी थियो ।

‘मजदुर वर्गपक्षीय विचारका संवाहक शक्ति, ती हितका संवाहक शक्ति, तिनीहरूलाई प्रतिक्रियावादी शक्तिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै विभाजित गर्न खोज्दछन् । आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखापर्‍यो । यो गठबन्धन के हो ? यो गठबन्धन, यस्ता गठबन्धन, हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराइयो, गरियो’, ओलीले भने । 

आफ्नो नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेको त्यसलाई अवरूद्ध गर्न देशी÷विदेशी शक्ति लागेको उनले बताएका थिए । 

‘मजदुर वर्गपक्षीय विचारहरू, मजदुर वर्ग पक्षीय हितहरू, मजदुर पक्षीय संगठनहरू, संस्थाहरू, मजदुर वर्ग पक्षीय आन्दोलनहरू, तीनलाई कमजोर पार्ने प्रयासहरू । किनभने अन्तिममा समृद्ध नेपालः सुःखी नेपालीको गन्तव्य कसको हो त ?’, सम्मेलनमा ओलीले प्रश्न गरेका थिए ।

कमेन्ट गर्नुहोस्