०६ साउन २०८३, बुधबार

अब गठबन्धनको डम्फू मात्रै बजाएर बस्ने होइन, आगामी चुनावमा २५ सिट जित्छौँ : माधव नेपाल

अब गठबन्धनको डम्फू मात्रै बजाएर बस्ने होइन, आगामी चुनावमा २५ सिट जित्छौँ : माधव नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका छन् । 

पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले आगामी निर्वाचनलाई लक्षित गरेर पार्टीको संगठन विस्तारको काम अगाडि बढाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् । 

आगामी मंसिर पहिलो साता आम निर्वाचन हुने गरी मिति घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब गठबन्धनको ‘डम्फू बजाउने काम’ छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुट्नुपर्ने बताएका हुन् । 

अध्यक्ष नेपालले आगामी निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कम्तिमा १२ सिट जित्ने र समानुपातिकसमेत गरेर २० देखि २५ सिट ल्याउने दाबीसमेत गरेका छन् ।

स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको भन्दै उनले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरेका हुन् । 

‘हामीले स्थानीय तह निर्वाचनमा भाग लियौँ । अब मंसिर महिनामा चुनाव आउँदैछ । सम्भवतः मंसिर महिनाको पहिलो हप्तामा हुने गरी चुनावको घोषणा हुनेछ । अब कति दिन हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अब डम्फू बजाउने होइन । अब यो पार्टीलाई बलियो बनाउने डम्फू बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो । त्यो बेला हामीले गठबन्धन भएपछि त जितिहालिन्छ,’ अध्यक्ष नेपालले भने ।

स्थानीय तहको निर्वाचनमा सबैतिर उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउने अवस्था देखिएको पनि उनले बताए । ‘२० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट । भनेपछि हाम्रो पार्टी कमजोर छैन । यो कुरालाई बुझ्नुपर्ने आवश्यकता छ’, नेपालले भने ।

salt training

कमेन्ट गर्नुहोस्