राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन निष्पक्ष चुनावी सरकार बनाउन माग गरेको छ । गत स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलले राज्यको दुरुपयोग गरेको निष्कर्ष निकाल्दै राप्रपाले आगामी निर्वाचनका लागि निष्पक्ष चुनावी सरकार गठनको प्रस्ताव अघि सारेको हो ।
साउन ५ देखि ७ गतेसम्म काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समिति बैठकले हिन्दू राज्य स्थापनाको मागसहित साउन महिनाभर उपत्यका केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार जनजिवीकाको सवाल, राष्ट्रियता र प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य, संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका विषयमा आन्दोलन गर्ने निर्णय बैठकले गरेको हो ।
राप्रपाले महँगी नियन्त्रण, राज्यको शासकीय स्वरुप परिवर्तन गर्दै संवैधानिक राजसंस्थासहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न पनि माग गरेको छ ।

