३२ असार २०८३, बिहीबार

मेगा बैंक १३औँ वर्षमा प्रवेश, थुप्रै वित्तीय सूचकहरूमा उत्साहमूलक उपलब्धि

मेगा बैंक १३औँ वर्षमा प्रवेश, थुप्रै वित्तीय सूचकहरूमा उत्साहमूलक उपलब्धि

मेगा बैंक नेपाल लिमिटेड स्थापनाको १३औँ वर्षमा प्रवेश गरेको छ । १२ औँ वार्षिकोत्सवका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले मेगालाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । 

तत्कालीन अवस्थामा सबैभन्दा बढी चुक्ता पुँजी २ सय ३३ करोड भएको बैंक स्थापना गरेका अध्यक्ष शाहले स्मरण गरेका छन् । ‘लगानीकर्ताको विश्वास जित्दै सानो सानो पुँजीको लगानी र परिचालनबाट मेगा परियोजना सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण मेगा बैंक हो,’ उनले भने, ‘उत्पादनमूलक, रोजगारीको सिर्जना गर्ने र आयातलाई प्रतिस्थापन गर्दै निर्यातको प्रबद्र्धन गर्ने उद्योग–व्यवसायलाई भरथेक गर्दा मात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ ।’

अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समयमै कतिपय विधाहरुमा अग्रणी बैंकको रूपमा स्थापित हुन पुगेको दाबी गरे । 

विगतमा विभिन्न बैंकसँग मर्जर र एक्वीजिशनको सन्दर्भलाई जोड्दै उनले मेगा बैंकले स्थापित गरेका मान्यताहरूमा विचलन नआउनेमा विश्वस्त रहेको बताए । मेगाले पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकसँग मर्जर गरेको थियो । आ–आफ्ना क्षेत्रका अब्बल बैंकहरुसँगको मर्जर तथा प्राप्तिले मेगालाई वित्तीय बजारमा स्थापित गराउन अहम् भूमिका खेलेको अध्यक्ष शाहको भनाइ थियो । उनले ३७ वर्षको इतिहास भएको नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको लागि एमओयू भई सैद्दान्तिक सहमति प्राप्त भइसकेको जानकारी दिए । 

मेगा बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताइन् । ‘हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ यो बैंकको यात्रा अगाडि बढेको थियो । आजसम्म आइपुग्दा थुप्रै वित्तीय सूचकहरुमा यो बैंकको अवस्था उत्साहमूलक देखिएको छ,’ उनले भनिन् । उनले मेगा बैंक आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताइन् ।

देशको २८औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७औँ स्थानमा छ । २०७९ असार मसान्तसम्ममा मेगा बैंकको कूल निक्षेप करिब १ खर्ब ५६ अर्ब र कूल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको छ । 

मेगा बैंकले १८ सयभन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २ सय ८ शाखा सञ्जाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्शन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्