
धार्मिक भ्रमण तथा छिमेकी जिल्लाका वृद्धवृद्धासँग भेटघाट गर्ने क्रममा दिक्तेल आइपुगेका ओखलढुंगाका ज्येष्ठ नागरिकले खोटाङका ज्येष्ठ नागरिकसँग भेटघाट गर्नुका साथै आपसी अनुभव आदानप्रदान गरेका छन् ।
दिक्तेल बजारस्थित पर्यटकीयस्थल मझुवागढीसँगै रहेको कालिका भगवती मन्दिरको दर्शन गर्न उनीहरू दिक्तेल आइपुगेका हुन् ।
ज्येष्ठ नागरिक संघले दिक्तेलस्थित आफ्नै कार्यालयको प्राङ्गणमा स्वागत तथा भेटघाट कार्यक्रम राखेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकको हकहितको विषयमा आ–आफ्नो जिल्लामा भए/गरेका कामको प्रगतिबारे एकअर्काले जानकारी गराएका थिए ।
कार्यक्रममा आ–आफ्नो जिल्लाको संस्थागत काम तथा प्रगतिबारे जानकारी दिँदै अनुभव बाँडिएको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष एवं जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरेले बताए । ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई युवापुस्ताले अनुशरण गर्ने प्रणाली नभएको पाइयो,’ उनले भने, ‘पार्टीको नेतृत्वदेखि जनप्रतिनिधि चयनका क्रममा युवाभन्दा वृद्धवृद्धाको महत्त्वपूर्ण हात रहने हुन्छ । हामीले यसलाई भोट देउ, यसलाई नदेउ भनियो भने हामी हराउँछौं पनि जिताउँछौं पनि । निर्णायक शक्ति त वृद्धवृद्धा हो । देश विकास गर्न युवापुस्ताले वृद्धवृद्धाको ज्ञान, सीप र अनुभवलाई अनुशरण गर्न आवश्यक छ ।’
२ जिल्लाका ज्येष्ठ नागरिकबीचमा यातायातमा छुट, स्वास्थ्य सेवामा छुट, जीवनभरि विवाह नगरी बसेका वृद्ध र श्रीमतीको मृत्यु भएपछि विवाह नगरी बसिरहेका बिदुरलाई सामाजिक सुरक्षा भत्ता माग गर्दै आएको विषयमा समेत चर्चा चलाइएको थियो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे लगायतको उपस्थिति थियोे ।
ओखलढुंगाका ज्येष्ठ नागरिकको यात्रामा सिद्धिचरण नगरपालिकाका उपप्रमुख बस्नेतसहित १४ ज्येष्ठ नागरिक सहभागी थिए । सोलुखुम्बु, संखुवासभा हुँदै खोटाङ आइपुगेको टोलीले शनिवार बिहान दिक्तेलस्थित कालिका भगवती मन्दिरको दर्शन गरेका छन् ।
विक्रम संवत् २०७० सालमा गठन भएको ज्येष्ठ नागरिक संघ खोटाङमा आवद्ध वृद्धवृद्धा जिल्लामा हुने भ्रष्टचार, कुरीति, ढिलासुस्ती, कालोबजारीलगायतका विषयमा एकजुट भएर सम्बन्धित निकायमा खबरदारी समेत गर्दै आएका छन् । स्थानीय दुर्गाप्रसाद घिमिरेको नेतृत्वमा गठित ज्येष्ठ नागरिक संघमा जिल्लाका ३७१ वृद्धवृद्धा आजीवन सदस्य छन् ।