१२ असार २०८३, शुक्रबार

गैडहवामा कांग्रेसले एक साताअघि गरेको तालाबन्दीका कारण सेवाग्राही मारमा

गैडहवामा कांग्रेसले एक साताअघि गरेको तालाबन्दीका कारण सेवाग्राही मारमा

रूपन्देहीको गैडहवा गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिहरूले गरेको तालाबन्दीका कारण सेवाग्राही मारमा परेका छन् । उनीहरूले केही समय अगाडि मात्र आएका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीलाई काम गर्न नदिने भन्दै एकसाता अघि गाउँपालिकाको कार्यालयमा ताला लगाएका थिए । 

उनीहरूले प्रमुख प्रशासकीय अधिकृत क्षेत्री आर्थिक अनियमिततामा मुछिएको आरोप लगाएका छन् । त्यस्तै, गाउँपालिकामा कार्यरत करारका कर्मचारी हटाउन नहुने उनीहरूको माग छ । 

वडा नम्बर २ का अध्यक्ष सरोजउद्धिन धुनिया,  ३ का अध्यक्ष राम अजोर धुनिया, ४ का सुरेन्द्र सिंह कुर्मीलगायतले साउन २ गते गाउँपालिकामा तालाबन्दी गरी गरेका थिए । 

वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मी आफूहरुले ११ बुँदे माग राखेर तालाबन्दी गरेको बताए । उनले दुरुपयोग भएको राजस्व दाखिला र विवादमा परेका कर्मचारीलाई एक पटक सुध्रिने मौका दिए समस्या समाधान हुने बताए ।

गाउँपालिकाका अध्यक्ष सरेन्द्र पौडेलले अर्थहीन माग राखेर पालिकामा तालाबन्दी गरिँदा जनता सेवाबाट बञ्चित हुन पुगेको बताए । उनले प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीको कार्यकक्ष र लेखा र प्रशासन शाखामा तालबन्दी गरिएपछि कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको जानकारी दिएका छन् । 

रोजगार संयोजक पदमा कार्यरत मनिषा कार्कीलाई गाउँपालिकाले हटाएपछि विवाद शुरू भएको बताइएको छ । पालिका अध्यक्ष पौडेलले उनको कामकारबाही सन्तोषजनक नभएकाले हटाइएको जानकारी दिए । उनलाई स्पष्टीकरण सोधिएको र स्पष्टीकरण चित्त बुझ्दो नभएकाले उनको करार अवधि थप नगरिएको पौडेलको भनाइ छ । 

प्रमुख प्रशासकीय अधिकृतले राजस्व हिनामिना गरेको आरोपमा पनि सत्यता नभएको पालिका अध्यक्ष पौडेलको दाबी छ । ‘उहाँहरूले बाढी पीडित किसानहरूलाई राहत रकम दिनुभएन भन्नु भएको छ, त्यो पालिकाले दिने होइन,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयाबाट आएपछि मात्र हामीले वितरण गर्ने हो । आएकै छैन अनि हामीले कसरी वितरण गर्ने ?’ 

गाउँपालिकाको प्रमुख उपप्रमुखमा एमालेको नेतृत्व छ । 

salt training

कमेन्ट गर्नुहोस्